चैत १, ललितपुर । विभिन्न क्षेत्रका अगुवा तथा युवा गरी ९ जना व्यक्तित्वलाई सम्मान गरिएको छ । मोतीदेवी स्मृति केन्द्रले १ सय नवौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधबार एक कार्यक्रम गरी सम्मान गरेको हो ।सम्मानित हुनेहरुमा नेपालको पहिलो प्रहरी महिला चैतमाया डंगोल, कम्युनिष्ट नेता कमला अमात्य, महिला पत्रकार प्रेमकुमारी पन्त, प्रा।डा। प्रभा हमाल, दलित अधिकारकर्मी टेकु नेपाली, महिला उद्यमी अञ्जना ताम्राकार, प्रदेश ७ प्रदेश सभा सदस्य उमादेवी वादी, अधिकारकर्मी टीका दाहाल र लामो समय नाचेर गिनिज बुकमा नाम लेख्न सफल बन्दना नेपाल छन् ।
उनीहरुलाई मोतीदेवी केन्द्रका अध्यक्ष एवं नेकपाका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।
त्यस क्रममा कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक मोतीदेवीको जीवनी छोटकरीमा जानकारी दिँदै उनी प्रेरणादायी महिला भएको स्मरण गरिएको थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरका विकासका लागि विभिन्न योजना बनाए पनि विभिन्न अवरोध आइरहेको बताउँदै राम्रो कामलाई पनि संचारमाध्यमले सार्वजनिक गरिदिनुपर्ने बताए ।
-महिला खबरबाट