कात्तिक ३, काठमाडौ। नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य देवी खड्काले पार्टीको दोलखा इन्चार्जको भूमिकाबाट राजीनामा दिएकी छिन् ।
स्वाथ्यका कारण भन्दै आफूले इन्चार्जको भूमिकामा नरहने भनेर पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाएको खड्काले जानकारी दिइन् ।
खड्का दोलखाबाट प्रतिनिधिसभाको टिकटकी आकांक्षी थिइन् । यसअघि समानुपातिक सांसद भइसकेकी खड्का यसपालि प्रत्यक्ष चुनाव लड्न चाहन्थिन् । तर, माओवादीले टिकट भने गंगा कार्कीलाई दिएको छ ।
कार्कीलाई टिकट दिएकोमा आफ्नो विरोध नभएको तर केही विधिगत कुरामा चित्त नबुझेको खड्काको भनाइ छ । ‘पात्रको हिसाबले निर्णय गलत भयो भन्ने पनि मेरो कुरा होइन’, उनले भनिन्, ‘तर, जिम्मेवार तहमा रहेका व्यक्तिलाई नै छलफलमा सहभागी नगराएपछि त्यो विधिसंगत भएन भन्ने मेरो कुरा हो ।’