फागुन १९, काठमाडौं । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा–५ मा छोराले चिर्पट प्रहार गर्दा आमा घाइते भएकी छिन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार खानीखोला–५ का २८ वर्षीय विकास भुजेलले मादक पदार्थ सेवन गरी ५० वर्षीया आमा सुनमाया भुजेलमाथि आक्रमण गरेका हुन्। आइतबार अपराह्न करिब ५ बजे विकासले चिर्पटले टाउकोमा हानेका हुन्।
कानमाथि टाउकोमा चोट लागेको सुनमायाको प्राथमिक स्वस्थ्य केन्द्र तालढुंगामा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
आमालाई चिर्पट प्रहार गर्ने भुजेलले खानीखोला गाउँपालिकामा कार्यरत नगर प्रहरी ३० वर्षीय पाल्साङ लामालाई चक्कु प्रहार गरी घाइते बनाएका छन्। खानीखोला– ५ का लामालाई गाउँपालिकाको गेटअगाडि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
लामाको छाती र ढाडको बायाँपट्टि चोट लागेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार लामाको अवस्था मध्यम रहेको र उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ।
भुजेललाई चक्कुसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।