हालैको बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएको छ। सरकारले भने उपभोक्तालाई तत्काल राहत दिन वैकल्पिक आपूर्ति व्यवस्था अघि सारेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। उपभोक्ताले आफूले नियमित रूपमा प्रयोग गर्दै आएको कम्पनीको ग्यास नपाएमा उही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास उपलब्ध गराउन निर्देशन दिइएको हो।
मन्त्रालयका अनुसार बाढीबाट उत्पन्न आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। यो व्यवस्था हाललाई काठमाडौं उपत्यकाभित्र मात्र लागू हुनेछ।
व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्री यादवले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन्।
मन्त्री यादवले विपद्को अवस्थामा उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारी निर्देशनविपरीत काम गर्ने व्यवसायी तथा सम्बन्धित पक्षमाथि कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी समेत दिएकी छन्।