भदौ २३, काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीनवटा विधेयक तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कानुन मन्त्रालयसँग सम्बन्धित तीनवटा मुख्य एजेन्डा समावेश गरिएका छन्।
कार्यसूचीअनुसार मन्त्री गौतमले ‘नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन्। अनुमति प्राप्त भएपछि सोही बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने कार्यक्रमसमेत राखिएको छ।
त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रतिनिधि सभामा पेस गर्नेछिन्।
यसैगरी, एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पनि मन्त्री गौतमले सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सम्भावित कार्यसूचीअनुसार यी तीनवटै एजेन्डा बुधबारको प्रतिनिधि सभा बैठकमा अघि बढाइने तयारी गरिएको हो।
Share this with your friends: