web image
भदौ २३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी संसदीय दल सचेतक क्रान्तिशिखा धितालले परिवर्तनको नाममा नयाँ पुस्ताले विनम्रता, सहिष्णुता र मानवीय संवेदनशीलता गुमाउँदै त छैन भन्ने प्रश्न उठाएकी छन्।
अनलाइनखबरमा प्रकाशित आफ्नो लेखमा धितालले पुरानो पुस्ताका नेताहरूलाई ‘हामी नै सर्वेसर्वा हौँ’ भन्ने अहंकारका लागि प्रश्न गर्ने युवाले त्यही प्रवृत्ति आफैंमा पनि विकास गरिरहेका छन् कि छैनन् भन्ने आत्मसमीक्षा आवश्यक रहेको बताएकी छन्।
उनले २०८२ साल भदौ २३ गतेको जेनजी आन्दोलनलाई बेथिति र कुशासनविरुद्ध युवाहरूले उठाएको आवाजका रूपमा उल्लेख गर्दै उक्त दिन राज्यको दमनका कारण रक्तपात भएको बताएकी छन्। उनका अनुसार आन्दोलनमा युवाहरूले भविष्यका लागि आवाज उठाए पनि त्यस क्रममा उनीहरूले आफ्नो वर्तमान नै गुमाउनुपरेको विडम्बना रह्यो।
धितालले युवामा ऊर्जा र प्रविधिको ज्ञान भए पनि त्यसलाई मात्र विवेकको पर्याय मान्न नहुने उल्लेख गरेकी छन्। आफूलाई के थाहा छ भन्ने मात्र नभई आफूलाई के थाहा छैन भन्ने बुझ्नु र फरक विचार तथा अनुभवबाट सिक्ने क्षमता पनि चेतनाको महत्वपूर्ण पक्ष भएको उनको भनाइ छ।
उनले सामाजिक सञ्जालमा बढ्दै गएको गालीगलौज, व्यक्तिगत टिप्पणी र चारित्रिक आक्रमणप्रति पनि चिन्ता व्यक्त गरेकी छन्। गम्भीर अध्ययन र विमर्शलाई सतही सामाजिक सञ्जालका बहसले विस्थापित गरिरहेको तथा वैचारिक असहमतिलाई व्यक्तिगत आक्रमणमा बदल्ने प्रवृत्ति बढेको उनले उल्लेख गरेकी छन्।
धितालका अनुसार वास्तविक परिवर्तन पुराना नेताको अनुहार परिवर्तन गर्नु मात्र नभई राजनीतिक संस्कार र व्यवहार परिवर्तन गर्नु हो। आलोचना सुन्ने धैर्य, फरक मतको सम्मान गर्ने संस्कार र आफू पनि गलत हुन सक्ने स्वीकारोक्ति नयाँ पुस्तामा आवश्यक रहेको उनले बताएकी छन्।
उनले शक्ति प्राप्त गर्नु क्षमता भए पनि त्यसलाई संयमित रूपमा प्रयोग गर्नु चरित्र भएको उल्लेख गर्दै जेनजी आन्दोलनको वास्तविक सफलता युवाहरू सत्तामा पुग्नु मात्र नभई सत्तामा पुगेपछि पनि पुरानै सत्ता संस्कार नदोहोर्याउनुमा निर्भर रहने बताएकी छन्।
Share this with your friends: