साउन ४, काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।
नेपाल राष्ट्रबैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको रिफ्रेन्स रेट ११० रुपैयाँ ७८ पैसा तोकेको छ । दुईहप्ताअघि अमेरिकी डलरको रिफ्रेन्स रेट ११० रुपैयाँ ६२ पैसा तोकेको थियो ।
नेपालको इतिहासमा हालसम्म कहिल्यै पनि नेपाली रुपैयाँ यति धेरै कमजोर भएको थिएन । विगत तीन हप्तादेखि नै डलरको भाउ ११० रुपैयाँ र त्यसमाथि नै घुमिरहेको छ । भारतीय मुद्राको तीव्र अवमूल्यनको प्रभाव नेपाली मुद्रामा समेत देखिएको छ । नेपाली रुपैयाँको भारतीय मुद्रासँग स्थिर विनिमय दर रहेको छ । यसकारण डलरको उतारचढावबाट भारुमा प्रभाव पर्दा त्यसको सोझो असर नेपाली मुद्रामा पर्ने गर्छ ।
यहीकारण लामो समयदेखि एकखालका विज्ञहरुले भारतसँगको स्थिर विनिमय दर परिवर्तन पुनर्विचार हुनुपर्ने माग गरिरहे पनि सरकार वा सम्बद्ध निकायले यो बिषयलाई गम्भीर रुपमा लिएका छैनन् । यसको गम्भीर असर देशकै अर्थतन्त्रमा परिरहेको छ ।
सन् २०१६ नोभेम्बर ३० मा अमेरिकी डलरको भाउ बढेर ११० पुगेको थियो । भारतीय संचारमाध्यमहरुले समेत भारु सन् २०१६ नोभेम्बर २९ पछिकै सबैभन्दा सस्तो भएको बताएका छन् । भारतीय आयातकर्ता तथा बैंकहरुले जुन महिनाको अन्तमा माग गरेको ठूलो परिमाणको डलरका कारण भारतीय मुद्रा यति साह्रो अवमूल्यन भएको बताइएको छ । किनभने यी क्षेत्रबाट ठूलो मात्रामा डलर भारतबाट बाहिरिएको बताइएको छ ।
भारुका कारण नेपाली मुद्रा समेत इतिहासकै कमजोर भएपछि यसले देशको अर्थतन्त्रमा थुप्रै प्रभावहरु पार्ने अर्थविदहरुले बताएका छन् । यो पटक नेपाली मुद्रा गत अप्रिलदेखि नै अवमूल्यनमा पर्दै आएको थियो ।
अर्थविदहरुको भनाईमा भुक्तानी सन्तुलनलाई नियन्त्रणमा राख्न नसकेको नेपालजस्तो देशका लागि डलरको भाउ बढ्नु दुःखद पक्ष हो, कारण यसले आयातलाई महङ्गो बनाई देशकै अर्थतन्त्रलाई डामाडोल बनाइदिनसक्छ ।
तर, नेपाली मुद्राको अवमूल्यको सकारात्मक पाटाहरु पनि हुन्छन् । विज्ञहरुकाअनुसार रेमिटान्समा आधारित अर्थतन्त्रमा भित्रने रेमिटान्स डलर मजबुत हुँदा बढ्छ । यस्तै, निर्यातबाट प्राप्त आम्दानी समेत बढ्छ । यसैगरी, अमेरिकी डलरको उच्च क्रय क्षमताले नेपालजस्तो देशमा पर्यटकहरुको आगमन बढाउन समेत मद्धत पुग्नसक्छ । डलरको मजबुतीले भन्सार आय समेत बढ्नसक्छ ।
तर, डलरको मजबुतीबाट नेपालजस्तो देशलाई घाटा पनि कम हुँदैन । आयातमा आधारित अर्थतन्त्रमा आयातको खर्च बढ्दा अवस्था नाजुक हुनसक्छ । भुक्तानी सन्तुलनमा दवाब पर्नेछ भने वैदेशिक ऋण तिर्दा देशले बढी पैसाको जोहो गर्नुपर्नेछ ।
अमेरिकी डलरमा कतिपय जलविद्युत कम्पनीसँग सम्झौता हुने भएकोले डलरको भाउ बढ्दा यसले भविष्यमा नेपाल विद्युत प्राधिकरणको घाटा बढाइदिनसक्छ ।
यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि तोकिएको हवाई भाडादर समेत महङ्गो पर्नसक्छ । यसले विदेश पढ्न, बिजिनेश गर्न, घुम्न वा काम गर्न विदेश जानेहरुको बजेट समेत बढाइदिन्छ । डलरको भाउ बढ्दा अमेरिकी डलरको कालोबजारी समेत बढ्ने डर हुन्छ ।