भदौ २३, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएकी छन्।
नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै कार्कीले राजनीतिक स्थायित्व संसदीय गणितले मात्र नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख गरेकी छन्।
उनले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विधिको शासन सुनिश्चित गर्न तथा नागरिकको सम्मान र अधिकारको रक्षा गर्न सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिएकी छन्।
कार्कीले नवयुवा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भएको र कैयौँ राष्ट्रिय सम्पदा तथा ऐतिहासिक धरोहरसमेत गुमेको उल्लेख गर्दै उनले त्यसबाट पुगेका चोटका घाउ सायदै कहिल्यै पुरिने बताएकी छन्।
नवयुवा आन्दोलनबाट भएको जनधनको क्षतिको पीडा सेलाउन नपाउँदै भोटेकोशी बाढीले अर्को दुःख थपेको भन्दै कार्कीले विपद्को यस घडीमा धैर्य, जिम्मेवारी र एकताका साथ अघि बढ्न सबैलाई आह्वान गरेकी छन्।
भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन भएको थियो। त्यसपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गरिएको थियो।
आन्दोलनमा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले नवयुवा आन्दोलनको वार्षिकीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
Share this with your friends: