असोज १९ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा नेतृ तोसिमा कार्कीले नेपाली कांग्रेसलाई विगतका कमजोरी सच्याउँदै व्यवहारमै सुधारिएको लोकतान्त्रिक दलका रूपमा देख्न चाहेको बताएकी छन्। कांग्रेसको जारी १५औँ महाधिवेशनबारे धारणा राख्दै उनले कांग्रेसको लोकतान्त्रिक इतिहासमा रहेको योगदानलाई महत्वपूर्ण रहेको बताएकी हुन्।
कार्कीले कांग्रेसले विगतका गल्ती सच्याउँदै राजनीतिक व्यवहारमा सुधार ल्याएर थप पारदर्शी, जवाफदेही, जनमुखी, सुसंस्कृत र लोकतान्त्रिक दलका रूपमा आफूलाई पुनर्निर्माण गर्नुपर्ने बताएकी छन्। उनका अनुसार यस्तो सुधार भाषण वा पार्टी दस्तावेजमा मात्र सीमित नभई व्यवहारमै देखिनुपर्छ।
उनले रास्वपाले कांग्रेसलाई कमजोर प्रतिस्पर्धीका रूपमा नभई सक्षम, इमानदार र नैतिक रूपमा बलियो प्रतिस्पर्धीका रूपमा देख्न चाहेको बताएकी छन्। सक्षम र इमानदार राजनीतिक शक्तिबीच प्रतिस्पर्धा हुँदा कुनै एक दलको हार–जितभन्दा पनि समाज र राष्ट्रले सही नेतृत्व पाउने सम्भावना बढ्ने उनको भनाइ छ।
कार्कीले कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको योगदानलाई केवल चुनावी परिणाम वा सत्तामा बिताएको समयका आधारमा मूल्यांकन गर्न नहुने धारणा पनि राखेकी छन्।
उनले कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नगरी समयअनुकूल विचार, संगठन र राजनीतिक संस्कारलाई पुनर्सुदृढ गर्ने अवसर बनाउनुपर्ने बताएकी छन्। विशेषगरी लोकतान्त्रिक पार्टीभित्र विधि र विधानको सर्वोच्चता कायम गर्नुपर्नेमा उनले जोड दिएकी छन्।
यसैबीच, कांग्रेसले महाधिवेशनमार्फत संगठनात्मक संरचना सुधारका विभिन्न प्रस्ताव अघि सारेको छ। पार्टीमा कम्तीमा एक महिला उपसभापति र एक महिला महामन्त्री निर्वाचित हुने व्यवस्था गर्न विधान संशोधनको तयारीसमेत भइरहेको छ।