माघ १०, काठमाडौं । जिल्ला अदालत काभ्रेपलाञ्चोकले साइबर अपराध मुद्दामा एक युवकलाई कैद र जरिवाना गरेको छ। दार्चुलाको मार्मा गाउँपालिका घर भएका महेशसिंह कोट्टारीलाई एक महिना कैद र २० हजार रुपैयाँ पीडित युवतीलाई क्षतिपूर्तिबापत भराउने फैसला भएको हो।
कोट्टारी र पीडित युवतीबिच फोन, मेसेञ्जरलगायतका सामाजिक सञ्जालबाट कुराकानी हुने गरेको थियो । यसैबिच २६ फागुन ०७९ मा उनी युवतीसँग भेट्न आएका थिए । विवाहको कुरा गर्दा अहिले आफूहरूको बिहे गर्ने वेला भएको छैन भनी युवतीले सम्झाएकी थिइन् । कोट्टारीले नमानेपछि युवतीका अभिभावकले पनि उनलाई सम्झाएका थिए।
तर, कोट्टारीले युवतीको फोटो अर्कै फोटोमा जोडेर, भिडियो कलका स्क्रिनसट, सम्बन्धमा हुँदा लिइएका तस्बिरहरू नक्कली आइडी बनाई फेसबुकलगायतका सामाजिक सञ्जालमा राखिदिएका थिए। युवतीका आफन्त र साथीहरूलाई पनि उनले ती तस्बिर मेसेञ्जरमा पठाउने गरेका थिए।
साथै कोट्टारीले ती तस्बिर युवतीलाई समेत पठाएकोमा उनले ती सबै हटाउन र जथाभावी नपठाउन आग्रह गरेकी थिइन् । तर, उल्टै उनले त्यसबापत युवतीसँग २५ लाख रुपैयाँ मागेको युवतीले दिएको जाहेरीमा उल्लेख छ । साथै परिवारलाई नै सिध्यादिने भन्दै विभिन्न अश्लील मेसेज गरेको उनको भनाइ थियो ।
यसै सम्बन्धमा अनुसन्धान गरी काभ्रे प्रहरीले मुद्दा दायर गरेको थियो। जसमाथि गत ३ माघमा न्यायाधीश शिवकुमार पोखरेलको इजलासले कसुर कायम हुने फैसला गरेको हो। उक्त इजलासले कैद र क्षतिपूर्तिका साथै प्रतिवादीबाट दुई सय रुपैयाँ पीडित राहत कोषमा भराउने फैसला गरेको छ भने उनले अपराधका लागि प्रयोग गरेको मोबाइल पनि जफत हुने भएको छ।
प्रहरीको अगाडि कसुर स्विकारे पनि कोट्टारीले अदालतमा भने इन्कारी बयान दिएका थिए। तर, मौकामा गरेको बयानलाई नै आधार मानी अदालतले सजाय तोकेको हो।