असार १९, ललितपुर । सर्वोच्च अदालतले दादुराको खोप लगाएपछि ६ वर्षअघि डोटीमा मृत्यु भएका चार बालबालिकाको मृत्युको मुद्दा फैसला गरेको छ । सर्वोच्चले बालबालिकाको मृत्युको कारण राज्यका अधिकारीहरूको असावधानी र गैरजिम्मेवारपन रहेको भन्दै क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
क्षतिपूर्तिको माग गर्दै सर्वोच्चमा परेको रिटको फैसला गर्दै सर्वोच्चले बालबालिकाका परिवारलाई क्षतिपूर्ति स्वरुप प्रतिपरिवार १०÷१० लाख रुपैयाँ दिन आदेश दिएको हो ।
२०६९ भदौ ३ गते डोटीको काँडामाडौं गाविसमा दादुरा खोप लगाइएका ६ बालबालिकामध्ये चार बालबालिका मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अन्जु विकको मृत्यु भएको थियो ।
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गएको शुक्रबार रिटको फैसला गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत् तीन महिनाभित्र बालबालिकाका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन आदेश दिएको हो ।
फैसलामा भनिएको छ, ‘राज्यका अधिकारीहरूको असावधानी र गैरजिम्मेवारी कार्यका कारण निर्दोष बालबालिकाको ज्यान गएको देखिएकाले तीन महिनाभित्र मृतक बालबालिकाहरुको अभिभावकलाई जनही दश लाख रुपैयाँ क्षतिपूर्ति जिल्ला प्रशासन कार्यालय, डोटी मार्फत दिलाई सो प्रदुषित खोपको प्रयोगबाट बिरामी भएका अन्य बालबालिकाहरुको हकमा निशुल्क उपचार तथा उनीहरुले व्यहोर्नु परेको हैरानीको लागि उचित क्षतिपूर्ति समेतका लागि विपक्षीहरुको नाममा पररमादेश जारी हुने ठर्हछ ।’ क्षतिपूर्तिको माग गर्दै अधिवक्ता दलबहादुर धामीसहितले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
यस्तो छ फैसलाको पूर्णपाठ