असोज २, काँकडभिट्टा । झापामा दिदीबहिनीलाई बलात्कार गरेको आरोपमा ७३ वर्षीय वृद्धलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । एकै परिवारका ११ वर्षीया बहिनी र १७ वर्षीया दिदीलाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१२ माथिल्लो धाइजनका ७३ वर्षीय कपिलमणि पौडेललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकका अनुसार पीडित परिवारले दिएको जाहेरीपछि आरोपीलाई पक्राउ गरिएको हो । ‘विभिन्न प्रलोभन देखाएर दिदीबहिनीलाई आरोपीले बारम्बार बलात्कार गरेको पीडितको आरोप छ’, डीएसपी पाठकले भने,‘आरोपीलाई म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौं ।’ पीडितमध्ये १७ वर्षीया दिदीको ३ महिनाको गर्भसमेत रहेको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो । उनले आफ्नो तीन महिनाको गर्भ रहेको पनि जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।