नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती बिकले जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा भएको आगजनी र तोडफोडमा संलग्न व्यक्ति तथा समूहको पहिचान गर्न सरकारसँग माग गरेकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बिकले आन्दोलनमा सहभागी जेनजीहरूले नै भौतिक संरचना जलाएको जिम्मेवारी नलिएको अवस्थामा घटनाको वास्तविक दोषी पहिचान गर्नुपर्ने बताइन्।
उनले विशेषगरी भदौ २४ गते सिंहदरबारमा भएको आगजनीबारे प्रश्न उठाउँदै ‘सिंहदरबार जलाउने दोषी को थियो ?’ भनेर सरकारसँग जवाफ मागिन्।
सांसद बिकले मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्। प्रतिवेदन थन्क्याएर राख्ने नभई त्यसमा उल्लेख गरिएका विषय कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, ठूलो आन्दोलनपछि बनेको सरकारले समेत जेनजी आन्दोलनका माग पूरा गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्। आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार प्रभावकारी रूपमा हुन नसकेको तथा शहीदका सपना पूरा गर्ने दिशामा सरकार अघि नबढेको भन्दै उनले प्रश्न उठाइन्।
उनले आन्दोलनका घटनाको निष्पक्ष छानबिन, घाइतेको उचित उपचार तथा शहीद परिवारका माग सम्बोधनलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन्।