भदौ १७ , काठमाडौं । बेलायतका लागि नेपालका राजदूत रोब फेनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बुधबार मन्त्रालयमा भएको भेटमा उनीहरूबीच जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति तथा बढ्दो जोखिमबारे छलफल भएको हो।
भेटमा मन्त्री गौतमले पछिल्लो अप्रत्याशित बाढीपछि नेपालले विकासका पूर्वाधारलाई विपद् प्रतिरोधी तथा दिगो बनाउने विषयलाई प्राथमिकता दिने बताइन्। उनले दिगो र उत्थानशील विकासका लागि मित्रराष्ट्र तथा विकास साझेदारबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन्।
राजदूत फेनले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अझै बेपत्ता रहेका व्यक्तिको खोजीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
उनले नेपालमा हुने विकास, पुनर्निर्माण तथा विपद् व्यवस्थापनका प्रयासमा बेलायत सरकारले आर्थिक, प्राविधिक तथा मानवीय स्रोतमार्फत सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे।
मन्त्री गौतम र राजदूत फेनबीचको भेटले बाढीपछिको पुनर्निर्माणसँगै जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण र विपद् प्रतिरोधी विकासमा नेपाल–बेलायत सहकार्यलाई थप बलियो बनाउने विषयमा जोड दिएको छ।
Share this with your friends: