साउन ३, काठमाडौं । हरियाली तथा रंगिचंगि महिना साउन । विविाहित तथा अविवाहित महिलाको हातहरु यो महिनामा हरियो चुरा र मेहन्दीले सजिएका हुन्छन । प्रकृतिक रुपमा साउन महिना हरियो महिनाका रुपमा चिनिन्छ । साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन साउनभरि परम्पराको रुपमा चलिआएको छ ।
वनजंगल, खेतवारी मात्र नभई साउन महिना शुरु भएपछि युवतीका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् भने अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भनी हरियो चुरा र मेहन्दी लगाउँछन । तर, यो चलन कहिले बाट आयो र किन साउन महिनामा हरियो चुरा र मेंहन्दी लगाइन्छ ?
हिन्दू धर्मग्रन्थका अनुसार ‘ साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइन् । ’त्यस्तै प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । भने अविवाहित महिलाहरुले राम्रो वर पाउँछन् ।
यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता झन बढ्ने गर्छ । जसले गर्दा श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत्र बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमती प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ ।
यसका साथै चुराको आवाजले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । यसले मानिसको मस्तिष्कलाई अन्य धेरै फाइदा पुर्याउने वैज्ञानिकहरुले पुस्टि पनि गरेका छन् ।
मेहेन्दीले पनि हाम्रो स्वास्थलाई धेरै फाईदा गर्छ। मेहेन्दीको शीतलताले तनाव, टाउको दुखाई र ज्वरोबाट राहत प्रदान गर्ने मान्यता रहिआएको छ । नङलाई बढाउनका लागि पनि मेहेन्दी निकै प्रभावकारी मानिन्छ । तर, बजारमा पाइने रसायन युक्त मेहेन्दीले भने यस्ता फाइदा पुर्याउँदैनन् ।