असार ७, सुनसरी । गत वैशाख ३० गते देखि बेपत्ता इटहरी १६ निवासि १५ वर्षीया बालिका अस्मिता चौधरी भारतमा सुरक्षित फेला परेकी छन् । प्रहरीका अनुसार उनलाई हरियाणा र पन्जाब राज्यको सीमा क्षेत्रबाट भारतको एन्टी ट्राफिकिङ सेल, भारतीय प्रहरी र साना हात संस्थाको समन्वयमा केही दिनअघि उद्धार गरिएको हो ।
समान्य अवस्था रहेकी चौधरीलाई अहिले भारतकै एक सेफ हाउसमा राखिएको छ । उनलाई लिन इटहरीबाट उनका आफन्त र प्रहरीको टोली बुधबार भारत जाँदैछन् । बालिका बेपत्ता भए लगतै इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रविन्द्र थापा आफैँले खोजतलासको कमान्ड गरेका थिए । मोरङको सीमा नाका हुँदै अस्मितालाई काका लालु चौधरीको सहयोगमा विराटनगरका दिनेश मण्डलले भारत पुर्याइएको अनुसन्धानमा पत्ता लागेको थियो । प्रहरी निरीक्षक थापाले बालिकाको खोजीको लागि प्रहरी हेडक्वार्टर, सीआईबी र भारतीय प्रहरीसँग प्रत्यक्ष पहल गरेका थिए ।
यस्तै, बालिकालाई भारतसम्म पुर्याउने दिनेश मण्डल भने फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । काका लालु र अर्का एक सहयोगी भने प्रहरी हिरासतमा छन् ।
पिडित बालिकाका काका लालु चौधरीले झाँक्रीसँग फूलपाती सेलाउन कोसी नदी जानुपर्छ भनेर घरबाट लिएर गएका थिए । तर उनलाई झुक्याएर दिनेश मण्डल र काकाले बाइकमा राखेर विराटनगरको शनि मन्दिर हुँदै भारत पुर्याएका थिए ।