फागुन २१, काठमाडौं । डडेल्धुरामा कम उमेरमै सुत्केरी हुने धेरै रहेको देखिएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि माघ महिनासम्म कुल १२ सय ६४ जना महिला सुत्केरी हुँदा १५४ जना महिला २० वर्ष भन्दा कम उमेरका छन ।
यो संख्या लगभग १२ प्रतिशत रहेको स्वास्थ्य कार्यालयकाले जनाएको छ । सात वटा स्थानियतह रहेको डडेल्धुरा जिल्लाका नवदुर्गा गाउँपालिकाका ७ जना, अमरगढी नगरपालिकाका ८३, अजयमेरु गाउँपालिकाका ९, भागेश्वर गाउँपालिकाका २, परशुराम नगरपालिकाका ३५, आलिताल गाउँपालिका ११ र गन्यापधुराका ७ जना गरि १ सय ५४ जना २० वर्ष भन्दा कम उमेरका महिला स्वास्थ्यसंस्थामा सुत्केरी भएको सुचना अधिकारी जनक चन्दले जानकारी दिनुभयो ।
कम उमेरमा बच्चा जन्माउँदा आमा र नवजात शिशु दुवैको ज्यान जाने जोखिम रहने गर्छ । महिला कम उमेरमा सुत्केरी हुनेक्रम नरोकिएकाले मातृशिशु मृत्युदर घटाउन चुनौती भइरहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
सूचना अधिकारी चन्दले २० वर्षमुनिमै सुत्केरी हुने कार्यलाई शून्यमा झार्नका लागि सरकारीसहित विभिन्न निकायले अझै मेहनत गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।