भदौ ४ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले गैरसरकारी संस्था (एनजीओ) लाई मात्र दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा आफ्नो प्रत्यक्ष जिम्मेवारी पूरा गर्नुपर्ने बताएकी छन्।
बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै रानामगरले राज्यले गर्न नसकेका कतिपय काम गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र नागरिक समाजले गरिरहेको बताइन्।
सरकारले आफ्नो जिम्मेवारी पूरा गरेपछि मात्र अन्य क्षेत्रको भूमिकामाथि प्रश्न उठाउनुपर्ने उनको भनाइ थियो। उनले राम्रा काम गरिरहेका एनजीओलाई नियन्त्रण गर्नेभन्दा सरकारसँग सहकार्य गराउँदै नियमित अनुगमन गर्नुपर्ने बताइन्।
एनजीओ तथा आईएनजीओले प्राप्त गर्ने रकमको पारदर्शिता र त्यसको प्रभावकारी अनुगमन आवश्यक रहेको उनले उल्लेख गरिन्। विशेषगरी दुर्गम तथा कर्णालीजस्ता क्षेत्रमा सरकारी र गैरसरकारी क्षेत्रबाट जाने स्रोतको सही उपयोग भए–नभएको निगरानी गर्नुपर्ने उनको जोड थियो।
रानामगरले समाज कल्याण मन्त्रालयसँग रहेका सम्पत्ति तथा स्रोतको समेत प्रभावकारी उपयोग हुन नसकेको बताइन्।
उनले एनजीओमा लामो समय काम गरेको आफ्नो अनुभव उल्लेख गर्दै अरूलाई दोष दिनुभन्दा पहिले सरकारले आफ्नै जिम्मेवारी र कार्यसम्पादनको समीक्षा गर्नुपर्ने बताइन्। निजी क्षेत्र, एनजीओ र नागरिक समाजले राज्यलाई विभिन्न क्षेत्रमा सहयोग गरिरहेको भन्दै उनीहरूसँग सहकार्य आवश्यक रहेको उनको भनाइ छ।