भदौ ३ , काठमाडौं । सांसद रञ्जु दर्शनाले जेनजी आन्दोलनका क्रममा बैंकबाट लुटिएको सुनको उचित क्षतिपूर्ति सम्बन्धित ग्राहकलाई उपलब्ध गराउन सरकारसँग माग गरेकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै दर्शनाले आन्दोलनका क्रममा बैंकमा धितो राखिएको सुन लुटिएपछि पनि केही ग्राहकले अहिलेसम्म सुन वा त्यसको क्षतिपूर्ति पाउन नसकेको बताइन्। उनले पीडित ग्राहकको गुनासो तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा गत भदौ २४ गते भएको तोडफोड र आगजनीका क्रममा सवा ५ करोड रुपैयाँ नगदसहित करिब १८ किलो सुन लुटिएको थियो। बैंकका अनुसार लुटिएको सुन ग्राहकले ऋण लिनका लागि धितोमा राखेको सुन थियो।
घटनापछि बैंक सञ्चालक समितिले पीडित ग्राहकलाई क्षतिपूर्ति दिने निर्णय गरेको थियो। बैंकले भदौ २३ र २४ गतेको बजार मूल्यलाई आधार बनाएर क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको छ।
तर केही ग्राहकले भने क्षतिपूर्ति हालको बजार मूल्यअनुसार दिनुपर्ने माग गर्दै आएका छन्। तत्कालीन र वर्तमान सुनको मूल्यमा ठूलो अन्तर रहेकाले कतिपय ग्राहकले बैंकले तोकेको क्षतिपूर्ति लिन अस्वीकार गरेका छन्।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार तत्कालीन बजार मूल्यअनुसारको क्षतिपूर्ति स्वीकार गर्ने केही ग्राहकले रकम बुझिसकेका छन्। हालको बजार मूल्यअनुसार क्षतिपूर्ति माग गर्ने ग्राहकले भने अहिलेसम्म रकम नलिएको उनले बताए।
दर्शनाले पीडित ग्राहकले आफ्नो सम्पत्ति गुमाएको अवस्थामा उनीहरूको समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएकी छन्।