साउन २८, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरुसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा आइतबार निवेदन दिएका छन् ।
नेपाल सरकारको हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत आफूहरुले प्राप्त गरेको रकममा रु.आठ हजारका दरले रकम मागेको मुक्तहलियाले बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा संयुक्तरुपमा निवेदन दिँदै उनीहरुले आफूहरुको रकम फिर्ता गरिदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका छन् ।
जिल्ला मालपोत कार्यालयमार्फत आफूले पाएको रकममा कोलीले रु. आठ हजारका दरले मागेको मुक्तहलिया वीरभान महरले बताए । साउन १७ गते ग्वाल्लेकका दुखी रानासँग रु. १६ हजारमध्ये रु. नौ हजार ५०० घुस मागेपछि घटना बाहिर आएको हो । रु. नौ हजार ५०० मागेपछि आफूले प्रहरीमा निवेदन दिएको र वीरभान कोलीले पछि रकम फिर्ता गरेको रानाले बताए ।
मुक्तहलियाले दिएको निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रैले यो विषयमा छानबिन गर्ने बताएकाछन् । उनले भने, “मुक्तहलियाबाट पैसा मागेको पाइएमा कानूनअनुसार कारवाही गरिने छ ।”
मुक्तहलियाको रकममा जिल्लाभरि दुरुपयोग हुनसक्ने हलिया मुक्ति समाजका पूर्वकेन्द्रीय अध्यक्ष राजुराम भुलले बताए । तर जिल्ला हलियामुक्ति समाजका सदस्य वीरभान कोलीले भने आफूले पैसा नलिएको दाबी गरेकाछन्। आफूलाई फसाउन राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाएको उनको दाबी छ ।
बैतडीमा गत आवमा एक हजार मुक्तहलिया परिवारका लागि मुक्तहलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत रकम आएको थियो । सरकारले मुक्तहलियालाई घर निर्माणका लागि रु. तीन लाख २५ हजार, जग्गा खरीदका लागि रु. दुई लाख र घर मर्मतका लागि रु. एक लाख २५ हजारका दरले रकम दिँदै आएको छ । बैतडीमा दुई हजार २२ जना मुक्तहलिया रहेको तथ्याङ्क छ ।