असोज २९ , काठमाडौं । प्यालेस्टाइन समर्थक प्रतिबन्धित समूह ‘प्यालेस्टाइन एक्सन’लाई समर्थन गरेको विषयलाई लिएर आयरल्यान्डकी चर्चित लेखिका स्याली रूनीका पुस्तक बेलायतमा बिक्री तथा वितरण गर्न रोक लगाइने भएको छ। रूनी र उनका प्रकाशक फेबर एन्ड फेबरले यससम्बन्धी निर्णय गरेका हुन्।
‘नर्मल पिपल’ र ‘कन्भर्सेसन्स विथ फ्रेन्ड्स’ जस्ता चर्चित उपन्यासकी लेखक रूनीले आफ्ना पुस्तकबाट प्राप्त हुने रोयल्टी प्यालेस्टाइन एक्सनलाई सहयोग गर्न प्रयोग गर्ने बताएकी थिइन्। बेलायत सरकारले सन् २०२५ मा उक्त समूहलाई आतंकवादी संगठनका रूपमा प्रतिबन्ध लगाएपछि त्यसलाई आर्थिक सहयोग गर्नु कानुनी जोखिमको विषय बनेको छ।
प्रकाशक फेबरका अनुसार बेलायतको विद्यमान कानुनका कारण रूनीलाई त्यहाँबाट प्राप्त हुने आम्दानी हस्तान्तरण गर्न कठिन भएको छ। लेखकको पुस्तक बिक्री गरे पनि त्यसबाट प्राप्त रकम लेखकलाई दिन नसक्ने अवस्था स्वीकार्य नभएकाले बेलायतमा उनका पुस्तकको आपूर्ति रोक्ने निर्णय गरिएको प्रकाशकले जनाएको छ।
रूनीले आफूले आफ्ना विचार र प्रतिबद्धताबारे सार्वजनिक रूपमा स्पष्ट पारेको तथा त्यसका परिणाम स्वीकार गर्न तयार रहेको बताएकी छन्। यद्यपि, उनका पुस्तक अन्य देशमा भने बिक्री भइरहने प्रकाशकले स्पष्ट पारेको छ।
यस घटनाले राजनीतिक प्रतिबद्धता, लेखकको व्यक्तिगत स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताबीचको सम्बन्धबारे नयाँ बहस सिर्जना गरेको छ। प्यालेस्टाइन एक्सनमाथिको प्रतिबन्धलाई लिएर बेलायतमा कानुनी चुनौतीसमेत जारी छ।
Share this with your friends: