साउन १०, झापा । भारतीय एक युवकद्वारा झापाको गौरीगञ्जमा चक्कु देखाएर बन्धक बनाइएका १० वर्षीय सुमीलाल ताजपुरियालाई हिजो साँझ प्रहरीले घाइते अवस्थामा उद्धार गरेको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक राजु निरौलाका अनुसार भारतीय नागरिक २५ वर्षीय ओमप्रकाश सिंहले हिजो साँझ ६ बजेतिर गौरीगञ्ज गाउँपालिका वडा नं. ३ का ताजपुरियालाई चक्कु देखाएर नियन्त्रणमा लिएका थिए ।
अभियुक्त सिंहले नेपाली बस्तीमा प्रवेश गरेर निज बालकलाई उनकै घरको कोठामा करीव एक घण्टा बन्धक बनाएको प्रहरीको भनाइ छ ।
बन्धक बनाएको खबर पाएर आएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कोठाको ढोका फोडी बालकको उद्धार गरेको थियो ।
प्रहरीले उद्धारका लागि ढोका फोडेर प्रवेश गर्दा अभियुक्त सिंहले बालकलाई घाँटीमा छुरा प्रहार गरी घाइते बनाएको प्रहरी सहायक निरीक्षक निरौलाले बताए ।
उद्धारपछि घाइते बालकको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । उनको घाँटीमा सात टाँका लगाइएको प्रहरीले जनाएको छ ।
अभियुक्त सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्धक बनाउनुको कारण र समग्र घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।