भदौ १५ , काठमाडौं । नाइजेरियाकी राष्ट्रिय महिला फुटबल टोलीकी रक्षक रोफियाट इमुरान इङ्लिस महिला फुटबल क्लब एस्टन भिल्लामा स्थायी रूपमा आबद्ध भएकी छन्। उनी लन्डन सिटी लायनेसबाट एस्टन भिल्लामा पुगेकी हुन्।
२२ वर्षीया इमुरान आगामी २०२६र२७ महिला सुपर लिग सिजनका लागि एस्टन भिल्लाको टोलीमा थपिएकी हुन्। उनी क्लबको यस ग्रीष्मकालीन खेलाडी स्थानान्तरण अवधिको नवौँ नयाँ खेलाडी बनेकी छन्।
इमुरानले सन् २०२४ मा लन्डन सिटी लायनेसमा आबद्ध हुनुअघि फ्रान्सको स्टाड रेम्सबाट व्यावसायिक फुटबल खेलेकी थिइन्। रेम्सका लागि उनले २७ लिग खेलमा सात गोल गरेकी थिइन्।
लन्डन सिटी लायनेसमा रहँदा उनले टोलीलाई महिला सुपर लिगको शीर्ष श्रेणीमा बढुवा हुन महत्वपूर्ण योगदान दिएकी थिइन्। क्लबका लागि उनले विभिन्न प्रतियोगितामा ३१ खेल खेलेकी थिइन्।
इमुरानले सन् २०२२ मा नाइजेरियाको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन्। उनी २०२३ को महिला विश्वकप तथा २०२६ को महिला अफ्रिका कप अफ नेसन्समा नाइजेरियाको टोलीमा समेत रहेकी थिइन्।
एस्टन भिल्लाकी महिला फुटबल निर्देशक मारिसा एभर्सले इमुरानले टोलीको रक्षापंक्तिमा गति, ऊर्जा र अनुभव थप्ने बताएकी छन्।
इमुरानले नयाँ क्लबमा आबद्ध भएपछि आफू निकै उत्साहित रहेको र क्लबका लागि धेरै उपलब्धि हासिल गर्न चाहेको बताएकी छन्।