भदौ १५ , काठमाडौं । भारतले महिला एसिया कप टी–२० क्रिकेटमा थाइल्यान्डलाई ९४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
दुबईमा भएको खेलमा भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो। भारतका लागि शेफाली वर्माले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ६४ रन बनाइन्।
१६० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड भारतीय बलरसामु टिक्न सकेन र १६।१ ओभरमा ६५ रनमै अलआउट भयो। भारतका दीप्ति शर्मा र नन्दिनी शर्माले तीन–तीन विकेट लिए भने श्री चरणीले दुई विकेट हात पारिन्।
खेलपछि भारतीय कप्तान हरमनप्रीत कौरले थाइल्यान्डको अनुशासित बलिङको प्रशंसा गर्दै आगामी खेलमा कुनै पनि टोलीलाई कमजोर नआँक्ने बताइन्। भारतले ब्याटिङमा सुधार गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याइन्।
यस खेलमा दीप्ति शर्माले महिला टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी बन्ने कीर्तिमानसमेत बनाइन्। १५०औँ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै उनले आफ्नो विकेट संख्या १७१ पुर्याएकी हुन्।