भदौ १५ , काठमाडौं । केन्याली विश्व च्याम्पियन पेरेस जेपचिरचिरले सिड्नी म्याराथनको महिला उपाधि जितेकी छन्।
जेपचिरचिरले २ घण्टा १८ मिनेट ३१ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेकी हुन्। उनले आफ्नै देशकी इरिन चेप्टाईलाई करिब चार मिनेटले पछि पारिन्। इथियोपियाकी शुरे डेमिसे वेयर तेस्रो भइन्।
जेपचिरचिरले सुरुवाती आधा दौड निकै कठिन भए पनि दोस्रो हाफमा गति बढाउँदै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनको समय सन् २०२५ मा सिफान हसनले बनाएको कोर्स रेकर्डभन्दा मात्र नौ सेकेन्डले बढी हो।
यससँगै जेपचिरचिरले बोस्टन, न्यूयोर्क र लन्डनपछि सिड्नी म्याराथनमा पनि उपाधि हात पारेकी छन्।
यस वर्षको सिड्नी म्याराथनमा करिब ४० हजार धावक सहभागी भएका थिए। सिड्नी म्याराथनलाई गत वर्ष विश्वका प्रमुख म्याराथनको सातौँ ‘वल्र्ड म्याराथन मेजर’ का रूपमा समावेश गरिएको थियो।