साउन २० , काठमाडौं । छनोट प्रतियोगिताबाट बाहिरिए पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आगामी वुमन्स एसिया कप खेल्ने सम्भावना देखिएको छ। क्रिकेटसम्बन्धी अन्तर्राष्ट्रिय माध्यमका अनुसार एसियाली क्रिकेट परिषद् ९एसीसी० ले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, थाइल्यान्ड, यूएई र मलेसियालाई समेटेर प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ।
प्रतियोगिता यूएईमा अगस्ट २८ देखि सेप्टेम्बर १३ सम्म आयोजना हुने प्रस्ताव गरिएको छ। सहभागी टोलीहरूलाई २७ अगस्टसम्म यूएई पुग्न निर्देशन दिइएको बताइएको छ, यद्यपि एसीसीबाट आधिकारिक घोषणा अझै आएको छैन।
नेपाल क्रिकेट संघ ९क्यान० का सचिव पारस खड्काले यसबारे औपचारिक जानकारी प्राप्त नभएको बताएका छन्। महिला टोलीकी कप्तान इन्दु बर्माले पनि प्रतियोगितामा सहभागिताबारे आफूहरूलाई स्पष्ट जानकारी नभएको र तयारीसमेत सुरु नभएको उल्लेख गरिन्।
ट्वान्टी–२० ढाँचामा हुने यस प्रतियोगिता छैटौं संस्करण हो। नेपालले यसअघि २०१२, २०१६ र २०२४ मा प्रतियोगिता खेलेको छ। २०२४ मा श्रीलंकामा भएको संस्करणमा नेपालले यूएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो, जुन अहिलेसम्मको एकमात्र जित हो।
यता, हालै मलेसियामा सम्पन्न एसीसी वुमन्स प्रिमियर कपमा नेपाल क्वाटरफाइनलबाटै बाहिरिएको थियो। समूह चरणमा चीन र भुटानलाई हराए पनि हङकङसँग पराजित भएको नेपालले कमजोर प्रदर्शन गरेको थियो।
त्यसैबीच, क्यानले महिला टोलीका लागि नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको छ। अघिल्लो प्रशिक्षकलाई पदमुक्त गरिसकेको क्यानले एक महिनाभित्र नयाँ प्रशिक्षक ल्याउने जनाएको छ। आगामी यू–१९ महिला विश्वकपलाई ध्यानमा राख्दै प्रशिक्षक छनोट प्रक्रिया अघि बढाइएको हो।
नेपालले जनवरीमा बंगलादेशसँग मिलेर यू–१९ महिला विश्वकप आयोजना गर्ने तयारी पनि गरिरहेको छ, जसले नेपाली महिला क्रिकेटको विकासमा महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।