लतिपुर । तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक भएको छ । श्रेष्ठको जन्मदिनको अवसर पारेर घोष्ट राइटिङ नेपालले भूमिका (तेस्रोलिंगीको आत्मकथा) सार्वजनिक गरेको हो । शुक्रबार काठमाडौंमा कलाकार रमेश उप्रेती, नायिका रेखा थापा, पूर्व मिस नेपाल माल्भिका सुब्बा, नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले संयुक्त विमोचन गरे ।
विमोचन कार्यक्रममा बोल्दै नायिका रेखा थापाले भूमिकालाई जन्म दिने आमा नै वास्तविक हिरो भएको बताइन् । उनले भनिन्, ‘म भूमिका जस्तो बन्न सक्दिन, न भूमिका म जस्तो बन्न सक्छिन् ।’ थापाले सबैलाई आफ्नो युनिक पनमा बाच्ने अधिकार हुन्छ भन्दै भूमिकाको आत्मकथा हरेक गाउँ, बस्ती, टोल टोलमा पुग्नु पर्ने बताइन् ।
नायक एवं चलचित्र निर्माता रमेश उप्रेतीले भूमिकाको आँट देखेर सलाम गर्न मन लागेको बताए । उनले लिंगले समाजमा कुनै फरक नपार्ने भन्दै यो समुदायका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।
पूर्व मिस नेपाल माल्भिका सुब्बाले भूमिका श्रेष्ठको नाममा नागरिकता लिएको हेर्ने मन भएको बताइन् । भूमिकाले अहिले पनि कैलास श्रेष्ठकै नाममा नागरिकता लिएको भन्दै अब भूमिका श्रेष्ठकै नाममा नागरिकता लिएको हेर्न मन भएको बताइन् ।
नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले तेस्रोलिंगीको जीवनलाई किताबमा उतारिएको यो पहिलो पटक भएको बताइन् । ‘भूमिकाको यो किताब सबै तेस्रोलिंगीको जीवनसँग मिल्न जान्छ भन्दै उनले भनिन्, ‘मैले टिपेको कोपिला आज सुन्दर फूलमा परिणत भएको छ, मलाई गर्व लागेको छ ।’
साहित्यकार तथा पत्रकार अश्विनी कोईरालाले पुस्तकले धर्मका कुरादेखि ल्याएर विकास र साहित्यमा जोडेकोमा खुशी ब्यक्त गर्दै पुुस्तकको सफलताको शुुभकामना ब्यक्त गरे । कोइरालाले भूमिकाको कितावमा महाराभारत, रामायण, नेवारी संस्कृतीदेखि लिएर अन्तराष्ट्रिय बिषय समेत राखिएकाले पुस्तक पठनिय भएको बताए ।
पुस्तकका सम्पादक पदम श्रेष्ठले पुस्तकमा तेस्रोलिंगी मात्रै नभएर एलजीबीटीआई सबैको ब्याख्या गरिएको बताए । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार लेखेर मात्रै नहुने भन्दै कार्यान्वयन हुनुपर्ने बताए ।
घोष्ट राइटिङ नेपालका अध्यक्ष एवं लेखन कुन्जका कमल ढकालले हरेक मान्छेलाई किताबमा बदल्ने अभियानको पछिल्लो कडिको रुपमा भुमिका श्रेष्ठको आत्मकथा आएको बताए । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा उनको बिश्वास छ ।
ढकालले भूमिकाको जीवनको पुस्तक मात्रै नभएर यौनिक तथा लैंगिक अल्पसंख्यककै जीवनको पुस्तकको रुपमा तेस्रोलिंगीको आत्मकथा विमोचन भएको बताए ।
लेखक श्रेष्ठले भावुक हुँदै आफ्नो समूदायको पीडा बेदना समेटिएको पुस्तक तेस्रोलिंगीको आत्मकथा पढिदिन आग्रह गरिन् । आत्मकथामा ३५ बिषय समावेश छन् । २ सय ४० पृष्ठको पुस्तकको मुल्य ३ सय ५० रुपैयाँ राखिएको छ । महिला खबर