असोज ९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भियतनामका राष्ट्रपति ट्रान डाइ क्वाङको दुःखद निधन भएकोमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।
भियतनामका कायममुकायम राष्ट्रपति दाङ थी गोक थिन्हलाई आज एक शोक सन्देश पठाउँदै उहाँले स्वर्गीय राष्ट्रपतिका परिवारजन तथा भियतनामका जनतामा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
राष्ट्रपति क्वाङ एक क्रान्तिकारी नेता हुनुहुन्थ्यो भन्दै राष्ट्रपति भण्डारीले भियतनामको स्थायित्व र विकासका निम्ति उहाँले गर्नुभएको योगदानको सधैँ स्मरण हुने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले दुःखको यो घडीमा नेपाल सरकार र नेपाली जनता भियतनामको सरकार र त्यहाँका जनताका साथ रहेका शोक सन्देशमा उल्लेख गर्नुभएको छ ।