असोज २, काठमाडौं । काठमाडौं जाऔँ अभियान अन्तर्गत प्रधानाध्यापकलाई विद्यालयको तालाचाबी बुझाई आज देशभरका सबै विद्यालय कर्मचारी राजधानीमा भेला भएका छन् ।
शिक्षा ऐन आठौं संशोधनमा कर्मचारी सम्बन्धी व्यवस्था लागु नगरी विद्यालय कर्मचारीलाई अन्याय गरेको भन्दै देशभरका कर्मचारी आन्दोलनमा उत्रिएको विद्यालय कर्मचारी संगठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियनद्धरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । भदौ ३१ गतेबाट जारी आन्दोलन असोज ६ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु राखिएको विद्यालय कर्मचारी संगठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियनले जानकारी दिएको छ ।
देशभरबाट भेला भएका कर्मचारीहरुले आज रत्नपार्क शान्ति बाटिकादेखि व्यानर, प्लेकार्ड सहितको ¥याली बागबजार, पुतलीसडक, न्यूप्लाजा, अनामनगर, हनुमानथान, भाटभटेनी, प्रभु बैंक, बबरमहल हुँदै नयाँबानेश्वर पुगेर कोण सभामा गरेको छ । यस्तै भोली व्यापारिक उद्योग प्रतिष्ठान लगायतमा काम गर्ने श्रमिक, कर्मचारीका लागि न्यूनतम पारिश्रमिक, सञ्चयकोष, बिमा, विदा, ट्रेड युनियन अधिकार लगायतको व्यवस्था गरेको तर सामुदायिक विद्यालयका कर्मचारीलाई मासिक पारिश्रमिक २,०००।–, ४,०००।–, ४,५००।–, ७,५००।–, ११,५००।– मात्र दिएर पोशाक भत्ता लगायतका अन्य सुविधा नदिई श्रमको चरम शोषण गरी शिक्षा ऐन आठौँ संशोधन तथा ६ महिना भित्र कार्यान्वयन गर्नुपर्ने सर्वोच्च अदालतको फैसला बमोजिमको Service Law साढे सात बर्ष बितिसक्दा सम्म कार्यान्वयन नगरी सरकारले नै संविधानको उल्लंघन गरेकाले उक्त दिन माइतीघर मण्डलामा खाली प्लेट, चम्मच सहित अर्धनग्न (महिला बाहेक– गञ्जी लगाई) रुपमा भेला भई संविधानको धारा १२६ को उपधारा (२) जलाउने कार्यक्रम छ ।
सर्वोच्च अदालतको फैसला बमोजिमको Service Law अबिलम्ब कार्यान्वयन गरिनुपर्ने र शिक्षा ऐन आठौं संशोधनको दफा १६ ठ. विद्यालय कर्मचारी सम्बन्धी व्यवस्था अबिलम्ब लागु गरिनुपर्ने आन्दोलनरत कर्मचारीको प्रमुख माग हो ।