काठमाडौं। पहिलो चरणमा निर्वाचन हुने जिल्लाका ६ स्थानीय तहका कुनै पनि वडाध्यक्षमा महिला नआउने भएका छन् । ६ नम्बर प्रदेशअन्तर्गत परेका ३ नगर र ३ गाउँपालिकाका ७३ वडामा कुनै पनि दलले वडाध्यक्षमा महिलालाई उम्मेदवार नबनाएका हुन् । मुसीकोट, चौरजहारी र आठबीसकोट नगरपालिका तथा बाँफीकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकाका कुनै पनि वडाको अध्यक्षमा महिलालाई उम्मेदवार बनाउने निर्णय नभएको दलले जनाएका छन् ।
६ वटै तहका सबै वडामा उम्मेदवारी दिने तयारी गरेका कांग्रेस, एमाले र माओवादी केन्द्रले वडाध्यक्षमा १ जना पनि महिलालाई उम्मेदवार बनाएका छैनन् । कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओलीले अहिलेसम्म कतै पनि वडाध्यक्षमा महिलालाई उठाउने निर्णय आएको छैन ।
तर छलफल भने चलिरहेको उनले बताए । ‘हामीले निर्णय त गरिसकेका छैनौं,’ ओलीले भने, ‘तर मनोनयनको बेलासम्म कतै राख्न सकिन्छ कि भनेर छलफलचाहिँ भइरहेको छ ।’ एमाले र माओवादी केन्द्रले पनि वडाध्यक्षका लागि महिलालाई अघि नसारेको स्विकारेका छन् । एमाले प्रचार विभाग जिल्ला प्रमुख धनराज खड्काले पनि अहिलेसम्म महिलालाई वडाध्यक्षको जिम्मेवारी दिने निर्णय नभएको बताए । ‘हामी केही वडामा छलफलमै छौं,ं’ उनले भने, ‘अहिलेसम्म निर्णयचाहिँ कुनैमा पनि नभएको कुरा सत्य नै हो ।’
पहिलो चरणमा निर्वाचन हुने क्षेत्रका वडामा मात्रै होइन, ६ वटै स्थानीय तहको प्रमुख पदमा १ जना पनि महिला छैनन् । ३ नगरका प्रमुख, उपप्रमुख र ३ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका प्रमुख तीनसहित अन्य साना दल कसैले पनि प्रमुख वा अध्यक्षमा महिलाको पक्षमा निर्णय गरेका छैनन् ।
माओवादी केन्द्रकी नेतृ तथा महिला विभाग प्रमुख कमला रोकाले ७३ वटा वडाको अध्यक्षमा १ जना पनि महिला नहुनु विडम्बना भएको बताइन् । यत्रो वडामा कुनै पनि दलले एकै जना महिलालाई वडाध्यक्षका लागि निर्वाचनमा लड्ने गरी निर्णय नगर्नुलाई सामान्य रूपमा लिन नसकिने उनको भनाइ छ । ‘यहाँ व्यवस्था र पात्र फेरिए पनि प्रवृत्ति उस्तै–उस्तै देखिन्छ,’ उनले भनिन्, ‘प्रवृत्ति नफेरिएसम्म समस्या हल होलाजस्तो देखिन्न ।’
प्रमुख, उपप्रमुख, अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था संविधानमै तोकिएका कारण महिलालाई उपप्रमुख वा उपाध्यक्षमा सीमित गरिएको आरोप महिलाले लगाएका छन् ।
बाध्यकारी भएकाले मात्रै पनि महिलालाई उपाध्यक्षमा निर्णय गर्न दलहरू बाध्य भएको न एमालेकी ६ नम्बर प्रदेश सदस्य देवी ओलीले बताइन् । जिल्लाका ९ तहमध्ये एमाले र माओवादी केन्द्रले एक/एक गाउँपालिकामा महिलालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको भए पनि उक्त क्षेत्रको निर्वाचन दोस्रो चरणमा हुँदैछ ।
एमालेले भूमे गाउँपालिकामा आशा स्वर्णकार र माओवादीले सिस्ने गाउँपालिकामा कुमारी बराल गौतमलाई अध्यक्षको टिकट दिएको छ । ५ नम्बर प्रदेशमा परेका पुथाउत्तरगंगा, भुमे र सिस्ने गाउँपालिकाको निर्वाचन दोस्रो चरण अर्थात् जेठ ३१ गते हुँदैछ ।