असोज २७ , काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नी निकट साथी तमन्ना दत्तको जन्मदिनमा भावुक सन्देश लेख्दै वर्षौँदेखिको मित्रता र आत्मीयता व्यक्त गरेकी छन्।
प्रियंकाले सामाजिक सञ्जालमा तमन्नासँगका करिब एक दर्जन तस्बिर सार्वजनिक गर्दै उनीसँगको २६ वर्ष लामो मित्रताको स्मरण गरेकी हुन्। उनले आफ्नो सम्बन्ध रुममेटदेखि पार्टीमा सँगै रमाउने साथी, मिल्ने मित्र हुँदै बहिनीसम्म विकसित भएको उल्लेख गरेकी छन्।
प्रियंकाका अनुसार तमन्ना जीवनका विभिन्न उतारचढावमा सधैँ उनको साथमा उभिने, हौसला दिने र आवश्यक पर्दा गल्ती औँल्याउन पनि पछि नहट्ने सच्चा साथी हुन्। उनले तमन्नाको निस्वार्थ साथ र मायालाई आफ्नो जीवनको अमूल्य सम्पत्ति भन्दै प्रशंसा गरेकी छन्।
प्रियंकाले साथीलाई सम्बोधन गर्दै आफूलाई सधैँ साथ दिएकोमा आभार व्यक्त गरेकी छन्। उनले तमन्नालाई जन्मदिनको शुभकामना दिँदै आफ्नो जीवनमा उनको स्थान विशेष रहेको बताएकी छन्।
तमन्ना दत्त प्रियंका चोपडाकी निकटतम साथीमध्ये एक हुन्। उनीहरू लामो समयदेखि एकअर्काको सुखदुःखमा साथ दिँदै आएका छन्। जन्मदिनलगायत विशेष अवसरमा पुराना तस्बिर र आत्मीय सन्देश सार्वजनिक गर्दै उनीहरूले आफ्नो मित्रता व्यक्त गर्ने गरेका छन्।
प्रियंकाको यो सन्देशले साँचो मित्रता समयसँगै अझ गहिरो बन्ने र जीवनका हरेक परिस्थितिमा साथ दिने व्यक्तिको महत्त्व झल्काएको छ।