web image
साउन २७ ,काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाको बंगलादेश फर्कने घोषणासँगै देशको राजनीतिक वृत्तमा उच्च पदस्थ अधिकारीहरूको विगतको सम्बन्ध र भूमिकामाथि प्रश्न उठ्न थालेको छ। विशेषगरी सेना प्रमुख जनरल वाकर–उज–जमानको आगामी भूमिकालाई लिएर राजनीतिक बहस चर्किएको छ।
हसिनासँगको निकटताको आरोपका कारण पूर्वराष्ट्रपति मोहम्मद साहबुद्दिन चुप्पुले निर्धारित समयभन्दा दुई वर्षअघि पदबाट राजीनामा दिएको विषयले पनि चर्चा पाएको छ। उनको हसिनासँग गोप्य फोन कुराकानी भएको आरोप सार्वजनिक भएपछि राजनीतिक दबाब बढेको बताइएको छ। तर चुप्पुले उक्त आरोपलाई निराधार भन्दै अस्वीकार गरेका थिए।
हसिनाले हालै भारतबाट पत्रकार सम्मेलनमार्फत आफू कुनै पनि मूल्यमा बंगलादेश फर्कने घोषणा गरेपछि देशको राजनीतिमा नयाँ तरंग आएको छ। यससँगै सेना प्रमुख वाकर–उज–जमानमाथि पनि हसिनासँगको पुरानो सम्बन्ध र सन् २०२४ को आन्दोलनका क्रममा उनको भूमिकालाई लिएर प्रश्न उठिरहेका छन्।
वाकरलाई हसिनाले नै सेना प्रमुख नियुक्त गरेकी थिइन्। उनी यसअघि प्रधानमन्त्री कार्यालयअन्तर्गत सशस्त्र बल डिभिजनमा प्रमुख स्टाफ अधिकृतसमेत थिए। हसिनाका आलोचकहरूले उनी विगतमा हसिनासँग निकट रहेको आरोप लगाउँदै आएका छन् भने समर्थकहरूले उनलाई हसिनाविरुद्ध ‘विश्वासघाती’का रूपमा चित्रण गर्छन्।
यसैबीच बंगलादेशी सेनामा इस्लामी झुकाव बढेको भन्दै पनि विश्लेषकहरूले वाकरको भूमिकामाथि प्रश्न उठाएका छन्। सेनाको संरचना, प्रतीक र युद्धघोषमा भएका केही परिवर्तनलाई उनीहरूले यसको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। सेनाले विगतमा आफूविरुद्ध लागेका राजनीतिक षड्यन्त्रका आरोपहरू भने अस्वीकार गर्दै आएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार हसिनाको सम्भावित पुनरागमनले प्रधानमन्त्री तारिक रहमानको सरकार र सेनाबीचको सम्बन्धमा समेत नयाँ दबाब सिर्जना गर्न सक्छ। अब वाकरले आफ्नो पद कायम राख्न सक्छन् वा राजनीतिक परिवर्तनको चपेटामा पर्छन् भन्ने विषय बंगलादेशको आगामी राजनीतिक घटनाक्रमसँग जोडिएको छ।
Share this with your friends: