साउन २४, मोरङ । कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु. ६ हजार ८०० भत्ता दिने निर्णय गरेको छ ।
कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु. ५ हजार र स्वास्थचौकीले रु.१ हजार ८०० उपलब्ध गराउने भएको हो ।
आर्थिक वर्ष ०७५/७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताए ।
यो सुविधा जुनसुकै स्थानबाट आएका नेपाली नागरिकलाई दिइने छ । प्रसूतिगृहमा प्रसूति गराउन ल्याएर स्वास्थ्य चौकीले अर्को अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्सबापत रु.२ हजार भाडा समेत दिइने स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष तथा वडा नं ४ का वडाध्यक्ष धनबहादुर राईले जानकारी दिए ।
स्वास्थ्य चौकीले प्रदान गर्ने रु. १ हजार ८००को हकमा भने नियमित जाँच गराएको हुनुपर्ने स्वास्थ्य चौकीका प्रमुख कामेश्वर अधिकारीले बताए । उक्त स्वास्थ्य चौकीले २४ सै घण्टा प्रसूति सेवा दिइरहेको छ ।