साउन १०, म्याग्दी । मंगला गाउँपालिकाले सुत्केरी भैंसी पाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ ।
सुत्केरी अवस्थाका गाईभैंसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो ।
यसवर्ष १९ भैंसीपालक कृषकलाई रु. तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले जानकारी दिए ।
कुहुँका आठ, बाबियाचौरका एक र बरंजाका १० कृषकलाई सुत्केरी भैंसीको आहराका लागि भत्ता उपलब्ध गराइएको हो । व्यावसायिक पशुपालनतर्फ आकर्षित गरी दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले आगामी वर्षमा समेत कार्यक्रमलाई निरन्तरता दिने खड्काले बताए ।
घाँसपातबाहेक अन्य पोषणयुक्त खानेकुरा नदिँदा पशुुको आयु कम हुने, विभिन्न रोगले सताउने, बिरामी हुने र दूध उत्पादन घट्ने समस्या रहने खड्काले बताए ।