भदौ ९ , काठमाडौं । नेपाली महिला फुटबलर सिमा रानी घले क्रोएसियाको शीर्ष डिभिजन महिला फुटबल क्लब झेएनके स्प्लिट मा आबद्ध भएकी छन्। उनीसँगै नेपाली महिला फुटबलले युरोपेली शीर्षस्तरको लिगमा नयाँ इतिहास बनाएको छ।
संकटा क्लबले सामाजिक सञ्जालमार्फत सिमा क्रोएसियाको ए डिभिजन म्याजेन्टा लिग खेल्ने गरी क्लबमा आबद्ध भएको जानकारी दिएको हो। यससँगै सिमा क्रोएसियाको शीर्ष महिला फुटबल लिगमा खेल्ने पहिलो नेपाली फुटबलर बनेकी छन्।
सिमाले आफ्नो फुटबल यात्रा एफसी बुद्ध बाट सुरु गरेकी थिइन्। त्यसपछि उनले नेपाली घरेलु फुटबलमा संकटा क्लबबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। घरेलु प्रतियोगितामा निरन्तर प्रभावशाली प्रदर्शन गरेपछि उनले युरोपेली क्लबमा खेल्ने अवसर प्राप्त गरेकी हुन्।
क्रोएसियाको शीर्ष डिभिजनमा सिमाको प्रवेशलाई नेपाली महिला फुटबलका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उनको यो यात्राले नेपाली महिला खेलाडीलाई अन्तर्राष्ट्रिय क्लब फुटबलमा अवसर खोज्न र उच्चस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ।
सिमाको युरोपेली क्लबमा प्रवेशले नेपाली महिला फुटबलको प्रतिभा अन्तर्राष्ट्रिय स्तरमा विस्तार हुँदै गएको सन्देशसमेत दिएको छ।