भदौ ३०, काठमाडौं । अमेरिकी अभिनेत्री सिड्नी स्वीनी सहभागी रहेको एक विज्ञापनलाई लिएर महिला खेलाडीहरूले तीव्र असन्तुष्टि जनाएका छन्। खेलसम्बन्धी बेटिङ तथा प्रिडिक्सन प्लेटफर्म नोभिगका लागि बनाइएको विज्ञापनमा स्वीनीले निकै कम कपडा लगाएर फुटबल, बेसबललगायत खेलका सामग्रीले शरीरका विभिन्न भाग छोपेको देखाइएको छ। महिला खेलाडीहरूले यसलाई महिलाको शरीर र महिला खेलको यौनिकरण गर्ने प्रयास भन्दै आलोचना गरेका छन्।
चारपटककी अस्ट्रेलियाली ओलम्पिक स्वर्णपदक विजेता पौडी खेलाडी आरियाने टिटमसले विज्ञापनप्रति कडा प्रतिक्रिया दिँदै महिलाको शरीरलाई व्यावसायिक रूपमा प्रयोग गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएकी छन्। उनका अनुसार महिला खेलाडीहरूले आफ्नो क्षमता र मेहनतबाट खेल क्षेत्रमा स्थान बनाइरहेका बेला यस्ता विज्ञापनले उनीहरूको संघर्षलाई कमजोर पार्छ।
बेलायती धाविका एमी हन्ट, ओलम्पिक साइकलिस्ट सोफी क्यापवेल तथा पूर्व अमेरिकी जिम्नास्ट ग्रेसी क्रेमरसहित अन्य खेलाडीहरूले पनि विज्ञापनको आलोचना गरेका छन्। उनीहरूले महिला खेललाई शरीर र आकर्षणभन्दा महिला खेलाडीको शक्ति, मेहनत, प्रतिभा र उपलब्धिसँग जोडेर प्रस्तुत गर्नुपर्ने बताएका छन्।
विज्ञापन सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक बहससमेत सुरु भएको छ। स्वीनीले भने आलोचनापछि विगतमा चर्चित महिला तथा पुरुष खेलाडीहरू नग्न अवस्थामा देखिएका फोटोसुटका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्, जसलाई केहीले उनको विज्ञापनको बचाउका रूपमा व्याख्या गरेका छन्।