साउन ११, चितवन । चितवनको रत्ननगरस्थित सौराहामा आज ३५ जना एकल महिलालाई नगदसहित सम्मान गरिएको छ ।
एकल महिलाले समाज परिवर्तन र सहकारी अभियानमा गरेको योगदानको मूल्यांकन गर्दै सौराहा बचत तथा ऋण सहकारी संस्था रत्ननगरले आज सम्मान गरेको अध्यक्ष गणेश खतिवडाले जानकारी दिए।
उनका अनुसार हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्ने अभियानअन्तर्गत यो वर्ष १५औं वार्षिकोत्सवको अवसरमा सहकारीमा आवद्ध भएर नियमित बचत गर्ने एकल महिलालाई सम्मान गरिएको हो । गएको वर्ष यहाँका वृद्धवृद्धालाई सहकारीले सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष खतिवडाले यहाँका एकल महिलालाई सौराहा बचतले एकल महसुस गर्न नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।
उनीहरुलाई खाँदा ओढाएर कदरपत्रले सम्मान गर्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बचत तथा सहकारीका कारण गाउँमा नै गर्जो टर्ने अवस्था आएकोमा खुशी व्यक्त गर्दै एकल महिला, वृद्धवृद्धा, बालबालिकाको क्षेत्रमा स्थानीय तहबाट पनि आवश्यक सहयोग रहने बताए ।
उनले रत्ननगर नगरपालिकाले ८० वर्ष पुगेकाको स्वास्थ्य परीक्षण गर्ने, बृद्ध भत्ता ईबैंकमार्फत वितरण गर्ने तथा वृद्ध र युवाबीचको सम्बन्ध बढाउन ‘उहिलेका कुरा’ कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको उल्लेख गरे । सो क्रममा पुष्पराज श्रेष्ठ, दीपेन्द्र खतिवडा, योगेश अधिकारी, सानुमाया थापाले मन्तव्य राखेका थिए।
वार्षिकोत्सवको अवसरमा आजै सौराहा बचतसहित लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ सौराहा वाइल्डलाइफ सिटी, लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प, लायन्स क्लब अफ रत्ननगर चित्रसेन बाबा र लियो क्लब अफ सौराहाको संयुक्त आयोजना वृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम समेत सम्पन्न भएको छ ।