भदौ १४, काठमाडौं । देवानी संहिता तथा फौज्दारी संहिताको व्यावहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा अधिकारकर्मीले जोड दिएका छन् ।सङ्कल्प नेपालद्वारा हिजो आयोजित ‘देवानी संहिता तथा फौज्दारी संहिता’ विषयक अन्तरक्रियामा महिला अधिकारकर्मीले कानूनलाई लक्षित समुदायसम्म पु¥याएर कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।
सांसद राधेश्याम अधिकारीले देवानी संहिता महिलामैत्री भएको भन्दै कार्यान्वयनमा महिला नै सक्रिय हुनुपर्ने बताउनुभयो । नयाँ शक्ति नेपालकी नेत्री दुर्गा सोवले ऐन/काूननलाई समयअनुसार परिवर्तन गर्न सकिने भन्दै पीडितले न्याय पाउने गरी भएका ऐन/कानून कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले संहिता तथा फौज्दारी संहिताले सीमान्तकृत समुदायलाई समेट्न नसकेको टिप्पणी गर्नुभयो । सङ्कल्पकी अध्यक्ष लीली थापाले पुरुषले पनि श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न पाउनुपर्छ भन्ने विषयमा पुरुषले जुनसुकै कारण देखाएर भए पनि सम्बन्धविच्छेद गर्ने खतरा हुने हुँदा त्यसबारे सचेत हुनुपर्छ भन्नुभयो ।