web image
भदौ १ , काठमाडौं । सन् २०२७ मा आयोजना हुने पहिलो आईसीसी महिला च्याम्पियन्स ट्रफी श्रीलंकाबाट अन्यत्र सारिने सम्भावनाले चर्चा पाएको छ। श्रीलंका क्रिकेट (एसएलसी) अहिले सरकारद्वारा नियुक्त अन्तरिम समितिको नियन्त्रणमा रहेकाले प्रतियोगिता आयोजनामाथि प्रश्न उठ्न थालेको हो।
मिडिया रिपोर्टअनुसार फेब्रुअरी १४ देखि २८ सम्म हुने तय भएको छ राष्ट्रहरूको सहभागिता रहने उक्त प्रतियोगितालाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले परिस्थिति नजिकबाट नियालिरहेको छ। विगतदेखि नै आईसीसीले राजनीतिक हस्तक्षेपमा सञ्चालित क्रिकेट प्रशासनप्रति कडा नीति अपनाउँदै आएको छ।
यसै कारण श्रीलंकामा पुनः निर्वाचित नेतृत्व नआए प्रतियोगिताको आयोजना अधिकार अर्को देशलाई हस्तान्तरण हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि, श्रीलंका क्रिकेटले भने प्रतियोगिता सार्ने विषयमा आईसीसीबाट कुनै औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ। एसएलसीका प्रमुख कार्यकारी अधिकृत एश्ले डे सिल्भाले हालसम्म श्रीलंका नै प्रतियोगिताको आधिकारिक आयोजक रहेको बताए। तर, उनले परिस्थितिका कारण भविष्यबारे निश्चित रूपमा केही भन्न नसकिने स्वीकार गरे।
अन्तरिम समितिले क्रिकेट प्रशासनसँग सम्बन्धित संवैधानिक सुधारका लागि नयाँ मस्यौदा तयार गरी खेल मन्त्रालयमा बुझाइसकेको छ। उक्त प्रस्ताव कानुनी र संसदीय प्रक्रियाबाट पारित हुनुपर्ने भएकाले यसले थप समय लिन सक्ने बताइएको छ।
यसअघि सन् २०२४ मा पनि श्रीलंकाले आईसीसी यू–१९ विश्वकप आयोजना गर्ने अधिकार गुमाएको थियो। तत्कालीन खेलमन्त्रीले निर्वाचित क्रिकेट प्रशासन विघटन गरेपछि आईसीसीले प्रतियोगिता अर्को देशमा सार्ने निर्णय गरेको थियो। त्यसबाट श्रीलंकाले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको थियो।
महिला च्याम्पियन्स ट्रफी सुरु हुन अब केही महिना मात्र बाँकी रहेकाले क्रिकेट प्रशासनसम्बन्धी विवाद तत्काल समाधान नभए श्रीलंकाले अर्को महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने जोखिम बढेको छ। यद्यपि, यस विषयमा आईसीसीले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
Share this with your friends: