साउन ३१ ,काठमाडौं । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फिर्ता गर्न भारतसमक्ष गरेको आग्रहलाई पुनः दोहोर्याएपछि दुवै देशबीच कूटनीतिक संवाद तीव्र बनेको छ। भारतले भने हसिनाको प्रत्यर्पणसम्बन्धी निर्णय राजनीतिक वा कूटनीतिक तहबाट नभई न्यायिक प्रक्रियामार्फत हुने स्पष्ट पारेको छ।
भारतीय सरकारी अधिकारीहरूका अनुसार प्रत्यर्पणसम्बन्धी कुनै पनि निर्णय भारतीय अदालतले गर्नेछ। अदालतले बंगलादेशले लगाएका आरोप भारतीय कानुनअनुसार पनि अपराधको श्रेणीमा पर्छन् वा पर्दैनन् भन्ने विषयको मूल्याङ्कन गर्नेछ।
यसैबीच, शेख हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने इच्छा व्यक्त गरेकी छन्। अगस्ट ५ मा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले सन् १९७१ को मुक्ति संग्रामको स्मरण गर्दै डिसेम्बरलाई बंगलादेशको विजयको महिना भएकाले त्यही समयमा स्वदेश फर्किन चाहेको बताएकी थिइन्।
सन् २०२४ मा बंगलादेशमा भएको जनआन्दोलनपछि भारतमा आश्रय लिएकी ७८ वर्षीया हसिना हाल नयाँ दिल्लीको एक गोप्य स्थानमा बस्दै आएकी छन्। बंगलादेशमा उनीविरुद्ध मानवताविरुद्धको अपराधको आरोपमा मृत्युदण्डको फैसला सुनाइएको छ भने उनको राजनीतिक दल अवामी लिगमाथि प्रतिबन्ध लगाइएको छ।
भारतीय विदेश मन्त्रालयले बंगलादेशको अनुरोधमाथि कानुनी प्रक्रियाअनुसार अध्ययन भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार सन् २०१३ मा भएको भारत–बंगलादेश प्रत्यर्पण सम्झौताअनुसार आवश्यक कागजातसहित औपचारिक अनुरोध प्राप्त भइसकेको छ।
बंगलादेशले सन् २०२५ मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणबाट सुनाइएको फैसलालाई हसिनाको प्रत्यर्पणको प्रमुख आधार बनाएको छ। तर अवामी लिगका नेताहरूले उक्त फैसलालाई राजनीतिक रूपमा प्रेरित निर्णय भएको दाबी गर्दै त्यसलाई अदालतमा चुनौती दिने तयारी गरेका छन्।
सन् २०१३ को प्रत्यर्पण सम्झौतामा अभियोग लागेका वा दोषी ठहर भएका व्यक्तिलाई सम्बन्धित देशमा फिर्ता गर्ने व्यवस्था छ। यद्यपि, राजनीतिक प्रकृतिका मुद्दालाई प्रत्यर्पणको आधार नबनाइने उल्लेख गरिएको छ।
भारतको प्रत्यर्पण ऐन, १९६२ अनुसार अदालतले अनुसन्धानपछि पर्याप्त आधार भेटिएमा प्रत्यर्पणको सिफारिस गर्न सक्छ भने आधार पुष्टि नभएमा सम्बन्धित व्यक्तिलाई रिहा गर्न सक्ने व्यवस्था छ।
शेख हसिनाको प्रत्यर्पणको विषय अहिले भारत र बंगलादेशबीचको सम्बन्धमा संवेदनशील मुद्दाका रूपमा देखिएको छ। यसले आगामी दिनमा दुवै देशको कूटनीतिक सम्बन्ध र क्षेत्रीय राजनीतिमा समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।