भदौ २१, काठमाडौं । भारतीय महिला क्रिकेटर शफाली वर्माले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएकी छन्। उनले ११३ इनिङ्समै ३ हजार टी–२० अन्तर्राष्ट्रिय रन पूरा गर्दै उक्त उपलब्धि हासिल गर्ने सबैभन्दा छिटो खेलाडी बनेकी हुन्।
यूएईको दुबईमा पाकिस्तानविरुद्ध जारी महिला एसिया कपको खेलमा शफालीले ३ हजार रनको आँकडा पार गरेकी हुन्। यसअघि यो कीर्तिमान आयरल्यान्डकी ग्याबी लुइसको नाममा थियो। लुइसले १२० इनिङ्समा ३ हजार टी–२०आई रन पूरा गरेकी थिइन्।
शफालीले २२ वर्ष २२० दिनको उमेरमा यो उपलब्धि हासिल गर्दै महिला टी–२० अन्तर्राष्ट्रियमा ३ हजार रन पूरा गर्ने सबैभन्दा कम उमेरकी खेलाडीको कीर्तिमानसमेत बनाएकी छन्।
यससँगै शफाली ३ हजार टी–२०आई रन पूरा गर्ने तेस्रो भारतीय महिला खेलाडी बनेकी छन्। यसअघि स्मृति मन्धान र हरमनप्रीत कौरले यो उपलब्धि हासिल गरिसकेका थिए।
पाकिस्तानविरुद्धको खेलमा भारतले बलिङमा समेत प्रभावशाली प्रदर्शन गरेको थियो। पाकिस्तान १८.१ ओभरमा मात्र ५५ रनमा अलआउट भएको थियो। भारतका श्री चरणी र प्रेमा रावतले समान तीन–तीन विकेट लिए भने दीप्ति शर्माले दुई विकेट हात पारिन्।
५६ रनको लक्ष्य पछ्याएको भारतले ८.४ ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो। शफालीले ६ बलमा १२ रन बनाइन्। स्मृति मन्धानाले ९ र प्रतीका रावलले ४ रन बनाए। कप्तान हरमनप्रीत कौरले १८ तथा दीप्ति शर्माले १२ रन बनाएपछि भारतले पाकिस्तानमाथि सात विकेटको सहज जित निकाल्यो।
आक्रामक ब्याटिङका लागि परिचित शफालीले किशोरावस्थामै भारतीय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी थिइन्। छोटो समयमै टी–२० क्रिकेटमा आफ्नो प्रभाव जमाउँदै आएकी उनले पछिल्लो उपलब्धिसँगै महिला क्रिकेटमा अर्को महत्वपूर्ण कीर्तिमान आफ्नो नाममा लेखाएकी छन्।