भदौ १६ , काठमाडौं । फिलिपिन्सको महिला बेसबल टोलीले महिला बेसबल विश्वकपको फाइनल चरणमा स्थान बनाउन नसके पनि पहिलो विश्वकप सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गरेको छ।
वाइल्डकार्डमार्फत विश्वकपमा प्रवेश गरेको तथा विश्व वरीयतामा २१औँ स्थानमा रहेको फिलिपिन्सले अगस्ट २३ देखि २७ सम्म ताइवानको ताइनानमा भएको समूह चरणमा दुई जितसहित चौथो स्थान हासिल गरेको हो।
फिलिपिन्सले प्रतियोगिताको पहिलो खेल शक्तिशाली जापानसँग ३–० ले गुमाएको थियो। तर जापानसँगको खेलबाट टोलीले महत्वपूर्ण अनुभव हासिल गरेको मुख्य प्रशिक्षक इसाक बाकारिसासले बताए।
त्यसपछि फिलिपिन्सले क्युबालाई ६–० ले पराजित गर्दै महिला बेसबल विश्वकपमा आफ्नो पहिलो ऐतिहासिक जित दर्ता गर्यो। त्यसपछि ग्रेट ब्रिटेनलाई ६–२ ले हराउँदै टोलीले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको थियो।
तर समूह चरणका अन्तिम दुई खेलमा फिलिपिन्सले बलिया टोलीविरुद्ध लगातार हार बेहो¥यो। पाँचौँ वरीयताको आयोजक चिनियाँ ताइपेईसँग ८–२ र छैटौँ वरीयताको भेनेजुएलासँग १०–० ले पराजित भएपछि फिलिपिन्सको विश्वकप फाइनल चरणमा पुग्ने सम्भावना समाप्त भयो।
यद्यपि टोलीका लागि प्रतियोगिताको अन्तिम स्थानभन्दा पहिलो विश्वकप सहभागिताबाट प्राप्त अनुभव महत्वपूर्ण बनेको छ। प्रशिक्षक बाकारिसासका अनुसार फिलिपिन्सले एसियाका शीर्ष टोलीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाएको छ। अब टोलीले विशेषगरी ब्याटिङ र पिचिङ सुधार तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थप अनुभव आवश्यक रहेको जनाएको छ।
फिलिपिन्स महिला बेसबल टोलीसँग घरेलु लिग नभएको र अन्तर्राष्ट्रिय प्रतियोगिताबाहेक नियमित प्रतिस्पर्धाको अवसर सीमित रहेकाले अनुभवको अभावलाई टोलीको प्रमुख चुनौतीका रूपमा लिइएको छ।
टोलीकी पहिलो बेसम्यान मार्टिन फ्रान्सिस्कोले विश्वकप सहभागिता फिलिपिन्सका लागि गौरवको विषय भएको बताइन्। उनका अनुसार विश्वकपले टोलीलाई आफूहरू विश्वका उत्कृष्ट टोलीको तुलनामा कहाँ उभिन्छन् भन्ने स्पष्ट रूपमा बुझ्ने अवसर दिएको छ।
टोलीकी कप्तान भेरोनिका भेलास्कोले आगामी दिनमा प्रशिक्षणलाई थप बलियो बनाउँदै अर्को विश्वकपमा फाइनल चरणका लागि छनोट हुने लक्ष्य रहेको बताइन्।
फिलिपिन्सको महिला बेसबल टोलीको ऐतिहासिक सहभागिताले देशमा महिला खेलाडीहरूको बढ्दो उपस्थितिमा अर्को महत्वपूर्ण अध्याय थपेको छ। फुटबल र टेनिसलगायत विभिन्न खेलमा फिलिपिनो महिला खेलाडीले अन्तर्राष्ट्रिय पहिचान बनाइरहेका बेला महिला बेसबल टोलीको विश्वकप यात्रा पनि त्यही उदीयमान यात्राको हिस्सा बनेको छ।