साउन ३१ ,काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षापछि देशका विभिन्न क्षेत्रमा उत्पन्न विपद्का कारण प्रभावित बनेका नागरिकको खोज, उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्रभावकारी तथा समन्वयात्मक ढङ्गले अघि बढाउन आग्रह गरेकी छन्।
शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले जोखिममा रहेका बस्ती र परिवारको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन्। उनले विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनालाई समेत प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्।
हालै रोल्पा, बाजुरा, जाजरकोट, कास्की र पर्वतलगायत जिल्लामा अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन्।
उनले बाढी, पहिरो, डुबान तथा नदी कटानको जोखिम अझै कायम रहेको उल्लेख गर्दै बदलिँदो जलवायुका कारण बढ्दो मौसमजन्य जोखिमलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएकी छन्।
जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले मौसम तथा विपद्सम्बन्धी सूचना र पूर्वसूचनाप्रति सचेत रहन नागरिकलाई आग्रह गरेकी छन्।
जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, नदी तथा खोलानालाको किनारबाट टाढा रहन र सम्भावित विपद्बाट आफू, परिवार तथा समुदायलाई सुरक्षित राख्न आवश्यक तयारी गर्न उनले सबैलाई आह्वान गरेकी छन्।
प्राकृतिक विपद्लाई पूर्ण रूपमा रोक्न नसकिए पनि समयमै गरिने तयारी, सही सूचना, सतर्कता तथा प्रभावकारी उद्धार र राहत व्यवस्थापनमार्फत मानवीय क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ छ। त्यसका लागि सरकार, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज र आमनागरिकबीचको सहकार्य अपरिहार्य रहेको उनले उल्लेख गरेकी छन्।