असोज २७ , काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा आयोजित महिला, शान्ति तथा सुरक्षा सम्बन्धी खुला बहसमा नेपालले महिला अधिकार, लैङ्गिक समानता र शान्ति प्रक्रियामा महिलाको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापाले महिला, शान्ति तथा सुरक्षा एजेन्डा कार्यान्वयनमा नेपालको दृढ प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले नेपालको संविधानले सुनिश्चित गरेको लैङ्गिक समानता र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्ताव नम्बर १३२५ र १८२० कार्यान्वयनका लागि तयार गरिएको राष्ट्रिय कार्ययोजनालाई यस प्रतिबद्धताको आधारका रूपमा प्रस्तुत गरे।
राजदूत थापाले महिला, शान्ति तथा सुरक्षा एजेन्डालाई प्रभावकारी बनाउन पाँच प्राथमिकतामा जोड दिएका छन्। जसमा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता, हिंसाबाट महिलाको संरक्षण, समानता र समावेशितामार्फत हिंसा रोकथाम, नेतृत्व तथा अवसरमार्फत महिला सशक्तीकरण र कार्यान्वयनमा प्रभावकारी जवाफदेहिता सुनिश्चित गर्नु रहेका छन्।
उनले महिलाको नेतृत्वमा शान्ति प्रक्रिया अझ बलियो, समावेशी र दिगो बन्ने उल्लेख गर्दै महिलामा लगानी गर्नु दीर्घकालीन शान्तिमा लगानी गर्नु सरह भएको बताए।