भदौ १६ , काठमाडौं । स्थानीय तथा स्वदेशी उत्पादनको बजार प्रवर्द्धन गर्दै महिला र साना उद्यमीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यास नगरपालिका–३, दमौली अस्पताल चोकस्थित अंशन चौतारीमा ‘व्यास कोसेली घर’ सञ्चालनमा आएको छ।
व्यास नगरपालिकाको सहयोगमा आइतबारदेखि सञ्चालनमा आएको कोसेली घरमा विभिन्न जिल्लाका महिला तथा लघु, घरेलु र साना उद्यमीले उत्पादन गरेका नेपाली वस्तु बिक्रीका लागि राखिएका छन्।
व्यास कोसेली घर सञ्चालन समितिकी अध्यक्ष कल्पना गौलीका अनुसार विभिन्न जिल्लाका लघु, घरेलु तथा साना उद्यमीले उत्पादन गरेका मौलिक नेपाली सामग्रीलाई एउटै बजारमार्फत उपभोक्तासम्म पुर्याउने उद्देश्यले कोसेली घर स्थापना गरिएको हो। उद्यमीले उत्पादन गरेका सामग्री घरमै थन्क्याएर राख्नुपर्ने अवस्था अन्त्य गर्दै उत्पादनलाई बजारसँग जोड्नु मुख्य उद्देश्य रहेको उनले बताइन्।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन स्थानीय सरकारले उत्पादनसँगै बजार व्यवस्थापनमा पनि लगानी गर्नुपर्ने बताए। महिलाले उत्पादन गरेका वस्तुको बिक्री सुनिश्चित भए थप मानिस उद्यमशीलतातर्फ आकर्षित हुने उनको भनाइ छ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उत्पादनसँगै बजार प्रवर्द्धनमा ध्यान दिए किसान तथा उद्यमीले आफ्ना उत्पादनको उचित मूल्य पाउन सक्ने बताए। बजार सुनिश्चित भए उत्पादन बढाउन उद्यमी तथा किसान थप उत्साहित हुने र स्थानीय उत्पादनलाई स्थानीय बजारसँग जोड्ने अभ्यासलाई निरन्तरता दिनुपर्ने उनले बताए।
कोसेली घरमा काठका सामग्री, सारङ्गी, मादल, बाँसका डोका, सोली, नाङ्लो र डालोलगायत परम्परागत सामग्री उपलब्ध छन्। त्यस्तै, ढाका सारी, सल तथा अन्य कपडा, स्वेटर, चकटी, गुन्द्री र चप्पलसमेत बिक्रीमा राखिएका छन्।
स्थानीय कृषि तथा वनजन्य उत्पादनअन्तर्गत तरुल, कोदो, मकै, फर्सी, विभिन्न प्रकारका अचार, मह तथा स्थानीय फलफूलसमेत बिक्री भइरहेको छ। व्यास नगरपालिका–५ की महिला उद्यमी कल्पना थापाका अनुसार स्थानीय रूपमा उपलब्ध फूलबाट बनाइएका सुगन्धित धूप तथा गाईको गोबरबाट तयार गरिएका सामग्रीसमेत कोसेली घरमा राखिएका छन्।
महिला उद्यमीले स्थानीय स्रोतसाधन प्रयोग गरी उत्पादन गरेका सामग्रीका लागि स्थायी बजार पाउनु ठूलो अवसर भएको थापाले बताइन्।
कोसेली घरले नेपाली उत्पादन र स्थानीय उद्यमीले उत्पादन गरेका वस्तु मात्र बिक्री गर्ने निर्णय गरेको छ। सञ्चालन समितिका अनुसार विदेशी उत्पादनलाई कोसेली घरमा बिक्री गर्न अनुमति दिइने छैन।
यसैबीच, कोसेली घरले सञ्चालनको पहिलो तीन दिन अर्थात् आइतबारदेखि मंगलबारसम्मको बिक्रीबाट प्राप्त आम्दानीको १० प्रतिशत रकम भोटेकोशी बाढीपीडितका लागि राहतस्वरूप प्रदान गर्ने घोषणा गरेको छ।