चैत १ काठमाडौं । युगाण्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले हङकङलाई पराजित गरेको छ। नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेर हङकङले जितका लागि दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेटमात्र गुमाएर भेट्टाएको हो।
नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन्। ४३ बल खेलेकी उनले ४ चौका हिर्काइन्। कप्तान इन्दु बर्माले ३२ बलको सामना गर्दै १८ रन बनाइन्। रोमा थापा ७ बलमा ४ रन बनाएर आउट हुँदा बिन्दु रावलले ४ बल खेल्दै ४ रन बनाइन्। नेपालका लागि पूजा महतोले नटआउट २६ बलमा २० रन बनाइन् भने अलिसा यादव ५ रनमा अविजित रहिन्।
युगाण्डाको एन्टेबे क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभर खेलेर ८ विकेटको क्षतिमा १०४ रन बनाएको थियो।
उसका लागि शान्जिन शहजादले सर्वाधिक ५४ रन बनाइन्। उनले ४७ बलको सामना गर्दै ५ चौका र एउटा छक्का प्रहार गरिन्। क्यारी चानले १६ तथा यास्मिन दासवानीले १४ रन बनाए।
बलिङतर्फ नेपालकी राजमती ऐरीले ३ विकेट, कप्तान इन्दु बर्माले २ विकेट तथा पूजा महतो र ईश्वरी विष्टले १र१ विकेट लिए।
आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगाण्डालाई एक विकेटले पराजित गरेको थियो।
तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको नेपाल चौथो खेलमा नामिबियासँग २३ रनले पराजित भएको थियो। यसैगरि‚ बिहीवार पाँचौँ खेलमा नेपाल घरेलु टोली युगाण्डासँग ४० रनले पराजित भएको थियो।