web image
साउन २५ ,काठमाडौं । महिला अफ्रिका कप अफ नेसन्समा मलावीले ऐतिहासिक प्रदर्शन गर्दै घानालाई २–१ ले पराजित गरी पहिलोपटक महिला विश्वकपमा स्थान बनाएको छ।
आइतबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा मलावीले पछाडि परेको अवस्था उल्टाउँदै जित निकालेको हो। खेलको सातौँ मिनेटमा चान्टेल बोये–ह्लोर्काहले गोल गर्दै घानालाई अग्रता दिलाएकी थिइन्। तर १२औँ मिनेटमा टेम्वा चाविङ्गाले बराबरी गोल फर्काइन्। खेलको ७९औँ मिनेटमा रोज काड्जेरेले निर्णायक गोल गर्दै मलावीलाई ऐतिहासिक जित दिलाइन्।
यस जितसँगै मलावी अल्जेरिया, क्यामरुन र मोरक्कोसँगै आगामी वर्ष ब्राजिलमा हुने ३२ टोली सहभागी महिला विश्वकपका लागि स्वतः छनोट भएको छ। महिला अफ्रिका कप अफ नेसन्सका चार क्वार्टरफाइनल विजेताहरूले सिधै विश्वकपको टिकट पाएका हुन्।
अब मलावीले सेमिफाइनलमा अल्जेरियासँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा आयोजक मोरक्को र क्यामरुनबीच भिडन्त हुनेछ। क्यामरुनले यसअघि डिफेन्डिङ च्याम्पियन नाइजेरियालाई १–० ले पराजित गर्दै सबैलाई चकित बनाएको थियो।
क्यामरुनकी १९ वर्षीया मिरियम न्याड्जौले उत्कृष्ट फ्रि–किक गोल गर्दै आफ्नो टोलीलाई विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेकी थिइन्।
नाइजेरिया भने हालसम्मका सबै नौ संस्करणका महिला विश्वकपमा सहभागी हुँदै आएको टोली हो। तर यसपटक क्वार्टरफाइनलमै पराजित भएपछि उसले अब प्लेअफमार्फत विश्वकपमा पुग्ने प्रयास गर्नुपर्नेछ।
नाइजेरियाको हारसँगै यसपटक महिला अफ्रिका कप अफ नेसन्सले नयाँ विजेता पाउने निश्चित भएको छ। यसअघि इक्वेटोरियल गिनी र दक्षिण अफ्रिकाले मात्र अफ्रिकी उपाधि जितेका छन्।
प्रतियोगिताको फाइनल खेल आगामी आइतबार मोरक्कोको राजधानी राबाटमा हुने तालिका छ।
Share this with your friends: