भदौ १५ , काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ४ हजार २०२ जना सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीनको वास्तविक संख्या अझै यकिन हुन सकेको छैन। विभिन्न सरकारी तथा सम्बन्धित निकायबाट विवरण संकलन भइरहेकाले संख्या थपघट हुन सक्ने उनले बताइन्।
स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय निकुञ्ज तथा जलविद्युत् आयोजनाबाट सम्पर्कविहीनको विवरण संकलन भइरहेको छ। प्रवक्ता महतले सम्पर्कविहीनको यकिन संख्या पत्ता लगाउन केही कठिनाइ भइरहेको बताउँदै खोजी कार्य जारी रहेको जानकारी दिइन्।
यसैबीच, बाढीका कारण अवरुद्ध भएका अधिकांश सडक तथा सञ्चार सेवा पुनः सञ्चालनमा आएका छन्। वैकल्पिक मार्ग पहिचान गरी सडक आवागमन सहज बनाइएको प्राधिकरणले जनाएको छ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्राधिकरणले करिब १४ वटा छुट्टाछुट्टै कार्यदल गठन गरी परिचालन गरेको छ। उद्धार, राहत, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वयका लागि छुट्टाछुट्टै टोली बनाएर काम भइरहेको छ।
बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजीलाई तीव्र बनाउँदै प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई समेत निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ।