भदौ १६ , काठमाडौं । भोटेकोशी र त्रिशूली नदी करिडोरमा आएको विनाशकारी बाढीपछि विस्थापित महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य सेवा, मर्यादित जीवनका लागि आवश्यक सामग्री तथा मनोसामाजिक परामर्श प्रदान गर्न थालिएको छ।
अगस्ट २६ मा आएको बाढीबाट प्रभावित महिला तथा किशोरीलाई आवश्यक स्वास्थ्य तथा सुरक्षा सामग्री उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरूले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहकार्यमा सहयोग अभियान सुरु गरेका हुन्।
प्रभावित समुदायमा मातृ तथा नवजात शिशुको स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक सेवा उपलब्ध गराउन दुईवटा घुम्ती स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। साथै, प्रजनन स्वास्थ्य सामग्रीको आपूर्ति, आपत्कालीन प्रसूति सेवाका लागि स्वास्थ्य संस्थामा पठाउने व्यवस्था तथा दुर्गम बस्तीमा स्वास्थ्य सेवा र आवश्यक सामग्री पुर्याउन यातायातको व्यवस्था सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिइएको छ।
बाढी प्रभावित क्षेत्रमा लैङ्गिक हिंसा रोकथाम, पीडितलाई आवश्यक सहयोग तथा स्वास्थ्य संस्थामा पठाउने व्यवस्था, मनोसामाजिक सहयोग र दूरपरामर्श सेवामा समेत विशेष जोड दिइएको छ।
त्यसैगरी, प्रभावित समुदाय तथा उद्धार कार्यमा खटिएका कर्मचारीका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान भइरहेको छ। ज्येष्ठ नागरिक, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहका विशेष आवश्यकतालाई ध्यानमा राखेर समुदाय तथा युवा सञ्जालमार्फत समेत सेवा उपलब्ध गराइएको छ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार नुवाकोटका विभिन्न आश्रयस्थलमा रहेका महिला तथा किशोरीलाई २ हजार मर्यादित जीवनका लागि आवश्यक सामग्रीका प्याकेट, ४ सय किशोरीका लागि आवश्यक सामग्रीका प्याकेट र ३ सय त्रिपाल वितरण गरिएको छ। प्रभावित क्षेत्रमा दुईवटा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ।
नेपाल रेडक्रस सोसाइटीले धादिङ र रसुवा जिल्लाका बाढी प्रभावित महिला तथा किशोरीलाई पनि मर्यादित जीवनका लागि आवश्यक सामग्रीका प्याकेट वितरण गर्ने तयारी भइरहेको जनाएको छ।