भदौ २२, काठमाडौं । नेपाली महिला बीच भलिबल टोलीले सीएभीए बीच टुर भुटान ओपन २०२६ मा रजत पदक जितेको छ। आइतबार थिम्पुमा भएको फाइनलमा भारतसँग पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो।
फाइनलमा नेपालको भावना डाँगी र सुनिता राईको जोडी भारतकी दीपिका र पवित्राको जोडीसँग तीन सेटमा पराजित भयो।
नेपालले फाइनलको पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २१–१७ को जित निकालेको थियो। तर दोस्रो सेटमा भारतले पुनरागमन गर्दै २१–१५ ले जितेपछि खेल निर्णायक तेस्रो सेटमा पुगेको थियो। तेस्रो सेटमा भारतले नेपाललाई १५–५ ले पराजित गर्दै उपाधि जित्यो।
फाइनलअघि भावन र सुनिताको जोडीले सेमिफाइनलमा भारतको ‘ए’ टोलीकी रेवती र स्वेताको जोडीलाई २१–१५, २४–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
समूह चरणमा भने नेपाली जोडीले भारतकै दीपिका र पवित्रासँग कडा प्रतिस्पर्धापछि २१–१७, १३–२१, १३–१५ ले पराजय बेहोरेको थियो। त्यसअघि नेपालले भुटानकी किन्ले र रिन्चेनको जोडीलाई २१–१२, २१–८ ले हराउँदै प्रतियोगिताको सुरुवात गरेको थियो।
त्यसपछि बंगलादेशकी सबिना र लक्कीलाई २३–२१, २१–११ को सोझो सेटमा पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको थियो।
नेपालको दोस्रो जोडी कमला पुन र कोपिला रानाले पनि प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्यो। सेमिफाइनलमा उनीहरू अन्ततः च्याम्पियन बनेको भारतको दीपिका र पवित्रासँग १६–२१, १४–२१ ले पराजित भए।
तेस्रो स्थानका लागि भएको खेलमा कमला र कोपिलाको जोडी भारतकी रेवती र स्वेतासँग २०–२२, २१–१९, १४–१६ ले पराजित भएपछि चौथो स्थानमा रह्यो।
प्रतियोगितामा कमला र कोपिलाले समूह चरणमा भुटानकी कर्मा र देचेनलाई २१–५, २१–६ तथा माल्दिभ्सकी इमान र अनललाई २१–१३, २१–७ ले पराजित गरेका थिए। क्वार्टरफाइनलमा उनीहरूले भुटानकी लेकी र जाङ्मोलाई २१–७, २१–५ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए।
सेप्टेम्बर ४ देखि सुरु भएको प्रतियोगिताको महिला विधामा नेपालका दुवै टोलीले आयोजक भुटानविरुद्ध सहज जितसहित प्रतियोगिताको सुरुवात गरेका थिए।
पुरुषतर्फ भने श्रीलंकाका दिलिपा, सदुन र मदुसंकाले उपाधि जिते। पुरुष विधामा सहभागी नेपालका दुवै जोडी सेमिफाइनलसम्म पुग्न सकेनन्।
महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडी समूह चरणमा भारतका उदय पोनथामिझान र सेन्थिलकुमारसँग २१–१८, २१–१४ तथा बंगलादेशका सानी र रातुलसँग २१–२३, २१–१२, १५–७ ले पराजित भयो।
त्यस्तै झामनसिंह दर्जी र शरण कर्मीले समूह चरणमा भुटानका फुब गेल्त्सेन र छेरिङ ड्रुक्पालाई २१–१९, २१–१५ ले हराए पनि भारतका भरत र राजेशसँग २१–१९, २१–१५ ले पराजित भए। क्वार्टरफाइनलमा उनीहरू भारतकै पोनथामिझान र सेन्थिलकुमारसँग २१–१४, २१–१४ ले पराजित भएपछि नेपालको पुरुष टोलीको यात्रा समाप्त भयो।